निर्मला हत्या प्रकरण: राजीनामा दिएका उपसचिव केसी छानबिन समितिमा फर्किए

काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी छानबिन समितिमा फिर्ता भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् ।

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।

समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका थिए । 

उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन्। उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताएका थिए । 

घटना छानविनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा, उनले आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेका थिए ।  

बलात्कार र हत्या भएको ४७ दिन पूरा भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

बुधबार विज्ञप्तिमार्फत स्वेच्छापूर्वक आज मिति २०७५/०५/२७ गतेदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहने जनाएका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?