विद्यालयको क्यान्टिन बाख्राको खोर

लोकपथ
70
Shares

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् ।

स्थानीय गणेश साउँदले विद्यालयको घरमा करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँसदाउरा राख्ने गरेका छन् । साउँदले विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको हो ।

गतवर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रध्यानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।

विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, स्थानीय गणेश साउँद जमिन आफ्नो रहेको दाबी गर्छन् । २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएकोमा थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्काे ठाउँमा सारिएको थियो ।

स्वास्थ्य चौकी अर्काे ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउँदले बताए । उक्त भवनलाई विद्यालयले दिवाखाजा पकाउने क्यान्टिनको रुपमा प्रयोग गर्दै आएको थियो । तर, गणेश साउँदले भने स्वास्थ्य चौकीलाई आफूले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् ।

उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई दान गरेको हुँ, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’ नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफू जानकार नरहेको उनी बताउँछन् । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसेपनि स्थानीय गणेशबहादुर साउँदले आफूले उक्त संरचना नछोड्ने अडान राखेपछि विवाद समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?