एजेन्सी : विगत ७० वर्षमा सन् १९४६ देखि २०१४सम्म जर्मनीको रोमन क्याथलिक चर्चका पुजारीहरूद्वारा ३ हजार ६ सय बालबालिकाहरूको यौन दुर्व्यवहार भएको खुलासा भएको छ ।
सो चर्चले आफै यस विषयमा अध्ययन गर्न गठन गरेको आयोगको सेप्टेम्बर २५मा प्रकाशित हुने प्रतिवेदनमा यस्तो उल्लेख भएको देखिएको हो ।
प्रतिवेदनका अनुसार त्यस चर्चमा पुजारी बनेका करिब १६७० जनाले ३६७७ जना बालबालिकाहरूसँग कुनै न कुनै प्रकारको यौन आक्रमण गरेको स्वीकार गरेको जर्मनको स्पाइजेल अनलाइनले
जनाएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
चर्चका प्रवक्ताले अध्ययनबाट प्राप्त तत्थ्य निराश र लज्जाबोध गराउने खालको भएको बताए ।
विश्वभरिका क्याथलिक पुजारीहरूबाट दशकौं देखि भएको यौन दुराचारको बारेमा उठेका प्रश्नहरूको बारेमा यो अध्ययनले खुलासा गरेको हो ।
जर्मन सञ्चार माध्यमले जनाए अनुसार ३८ प्रतिशत आरोपितहरूमाथि बालबालिकाहरूको अनुशासन प्रक्रियामा यौन दुराचार गरेको अभियोग तय गरिएको हो ।
६ मध्ये १ दुराचारीलाई बलात्कारका मुद्दा लगाइएकाे छ ।
पीडितहरूमा अधिकांश केटाहरू रहेको र ती मध्ये आधा भन्दा बढी १३ वा सो भन्दा कम उमेरका थिए ।
यस्ता यौन शिकारीहरू प्रायःजसो नयाँ नयाँ समुदायमा जहाँ उनको दुराचारका बारेमा कुनै चेतावनी जारी गरिएको हुँदै सर्ने गरेका थिए ।
जर्मनीका तीन विश्वविद्यालयहरूले संयुक्त रूपको अध्ययनलाई एकत्रित गरेका छन् । यसमा जर्मनीका २७ धर्मस्थलहरूका ३८ हजार दस्तावेजको अध्ययन गरिएको छ ।
यसका लेखकहरूका अनुसार चर्चहरूमा यौन दुराचारको अवस्था वास्तवमा यो भन्दा धेरै ठूलो हुन सक्ने छ ।
यसका धेरै रेकर्डहरू ध्वस्त भए वा त्यसलाई सच्च्याइएको देखिएको छ।
यो अध्ययनको आदेश दिने जर्मन बिशपहरूको सम्मेलनका प्रवक्ता बिशप स्टिफन अकरम्यानले भने “अध्ययनले प्रस्तुत गरेको यौन दुराचारको परिमाणबारे बुझेका छौं ।
यसबाट हामीलाई निराश र लज्जाबोध भएको छ ।”
यो अध्ययनको उद्देश्य चर्चको कालो पक्षमा प्रकाश पार्नु रहेको र यसलाई दोहरिन नदिने अपनाउनुपर्ने बाटोको खोजी रहेको उनले जनाए ।
भ्याटिकन सिटीले तत्काल यसबारे कुनै प्रतिक्रिया दिएको छ्रैन् । तर बुधबार पोप फ्रान्सिसले क्याथलिक बिशपहरूलाई भ्याटिकन बोलाए ।
उनले बालबालिकाहरूको सुरक्षा गर्ने विषयमा छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ ।
पोप फ्रान्सिसमाथि गत महिना यस्ता दुराचारीलाई कारबाही गर्नुको साटो अनदेखा गरेको आरोप भ्याटिकनका एक पूर्व कुटनीतिज्ञले लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया