प्रमोद अग्रहरी भन्छन् – ‘कथा काठमाडौं’ मा म्यासेज छ, हरेक नेपालीले हेर्नुपर्छ

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रङ्खला ‘सिंहदरबार २’ मा युवराज झाको भूमिका निभाएका छन् प्रमोद अग्रहरीले । उक्त भूमिकामा उनी एक कुशल र असल नेताका रुपमा देखिएका छन् ।

नविन सुब्बा निर्देशित यो श्रङ्खला हेर्ने दर्शकले प्रमोदलाई ‘नोटिस’ गरेकै हुन्छन् । उनको अभिनयको खुलेरै तारिफ गर्ने गर्छन् । खासगरी टेलिभिजन हेर्ने दर्शकसँग उनी चिनिने मौका पनि यही श्रङ्खलाका कारण पाएका छन् ।

यतिबेला भने प्रमोद अरु नै कारणले चर्चामा छन् । उनलाई चर्चामा ल्याएको छ – फिल्म ‘कथा काठमाडौं’ ले ।

‘सिंहदरबारमा मलाई किन पनि काम गर्न मन लागेको हो भने हामी टेलिभिजनका कार्यक्रमबाट सहजै धेरै दर्शकसम्म पुग्न सक्छौँ, सानो पर्दाका दर्शक ठूलो सङ्ख्यामा हुनुहुन्छ’, लोकपथसँगको कुराकानीमा प्रमोदले भने, ‘शिक्षासहितको यो राजनैतिक ड्रामाले मलाई धेरै दर्शकसँग चिनाएको छ ।’

प्रमोद आफैलाई पनि सिंहदरबारमा निभाएको युवराजको भूमिका मन पर्छ । किनकि, ऊ सही छ, देश, जनता र सिस्टमप्रति चासो छ ।

‘यो श्रङ्खलामा काम गर्दाको अनुभव निकै रमाइलो छ ।’, प्रमोदले भने ।

‘कथा काठमाडौं’ मार्फत उनको चर्चा खराब चारित्रिक भूमिकाका कारण छ । फिल्ममा उनी ‘एनी हाउ पैसा कमाउ’ को सिद्धान्तमा हिँडेका छन् । फिल्म युनिटले सार्वजनिक गरेका गीत तथा ट्रेलरमा उनलाई नेगेटिभ क्यारेक्टरमा देखाइएको छ ।

‘मैले त एउटा पात्रको भूमिका न निभाएको हुँ, दर्शकले रुचाएको पनि पाएको छु ।’, अग्रहरीले सुनाए ।

उमा, ग्याङस्टार ब्लुज, गुड बाइ काठमाडौं, चंखे शंखे पंखे, छक्का पञ्जा लगायतका दजर्नौं फिल्ममा फरक–फरक भूमिकामा देखिएका प्रमोदलाई झ्याप्पै दर्शकले चिन्दैनन् । किनकि, उनी पात्रअनुसार फिल्मको लूक बनाउन कञ्जुसाइँ गर्दैनन् । त्यसो त कतिपय फिल्ममा मधेशी पात्रको भूमिकामा दोहोरिएका पनि छन् उनी । 

तर, आफूले हरेक फिल्ममा पात्रलाई फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरिरहेको उनले बताए । भने, ‘केही फिल्ममा मधेशी लबज नै मलाई बोल्न नलगाइएको पनि होइन, तर ती भूमिकामा पनि फरकपन छ, याद गर्नुस् न – ग्याङ्स्टार ब्लुजको मधेशी लबज अर्को फिल्ममा मिल्दैन त्यहाँ म बिरयानी र कबाब खाने क्यारेक्टरमा छु, वास्तवमा म शाकाहारी हुँ ।’

उनका अनुसार यदि पात्रलाई न्याय गर्नु छ भने भूमिका फरक हुनुपर्छ ।

‘कथा काठमाडौं’ मा पनि उनको भूमिका केही भिन्दै देख्न सकिन्छ । तर, यो फिल्मको पहिलो गीत रिलिजपछि प्रियंका कार्कीसँगै प्रमोद पनि दर्शकको तारो बने । कतिले त यति अश्लील गालीले सरापे कि, प्रमोद ती गालीलाई सम्झन चाहन्नन् ।

‘कलाकारलाई गाली आउँछन्, त्यो सामान्य कुरा हो, तर गीत रिलिजपछि मलाई एक युवकले फेसबूकमा आमालाई चकारेर गाली गर्नुभयो, त्यो दिन निकै दुःख लाग्यो’, एकछिन बोली रोकेर उनले थपे, ‘आमा बितेको १७ वर्ष भयो, त्यसरी गाली आउँदा निकै ‘हर्ट’ भयो ।’

बोल्दाबोल्दै एकछिन रोकिए । मोबाइलमा सुरक्षित राखेको स्किृनशट देखाए । ती युवकको नाम सार्वजनिक गर्न भने चाहेनन् ।

फिल्म विवादमा तानिए पनि कतिपयले उनको कामको तारिफ गरिरहेका छन् । प्रमोद भने यो अश्लील नभएर महिला हिंसालाई सचेत गराउन खोजिएको फिल्म भएको बताए । ‘परिवारसँग बसेर हेर्न नमिल्ने भन्ने कमेन्ट आइरहेको छ, तर म के भन्छु भने जसलाई जसरी सजिलो हुन्छ, हेर्नुस्, किनकि यो हरेक नेपालीले हेर्नुपर्ने फिल्म हो ।’, उनले सुनाए ।

प्रमोदका अनुसार यो फिल्मको कथा सबैले हेर्नुपर्ने खालको छ । बाहिरबाट हेर्दा सबल देखिने जीवन वास्तवमा कस्तो हुनसक्छ भन्ने कुरालाई फिल्मले कथानक बनाएको छ । ‘फिल्मले उज्यालो खोज्ने चक्करमा कोही पनि अँध्यारोमा नफसोस् भनेर अलर्ट गराइदिन्छ ।’, प्रमोदले दाबी गरे ।

‘कथा काठमाडौं’ की निर्देशकसँग उनको भेट अभिनय सिक्ने बेलामा भएको थिए । त्यतिबेला उनी नाट्यकर्मी तथा प्रशिक्षक अनुप बरालको स्टुडियोमा अभिनय सिक्दै थिए । संगीता पनि त्यहीँ नाटक सिक्न आउने गर्थिन् ।

‘संगीताले त्यतिबेला गर्ने कुराले नै यो मान्छेसँग कुनै समय काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, यो फिल्ममा काम गर्ने मौका पनि त्यही भेटले जुराएको हो’, उनले थोरै मुस्कुराउँदै थपे, ‘म आफूलाई किन पनि लक्की मान्छु भने, फरक निर्देशकसँग काम गर्न पाएको छु, संगीताको राम्रो बानी चाहिँ काम गर्ने शैली गज्जब, अनि काममा पनि उत्तिकै फोकस ।’

प्रमोदले अभिनय गरेका केही फिल्म रिलिज मिति कुरेर बसेका छन् । यता हातमा कुनै फिल्म छैनन् । केही स्किृप्ट भने झोलामा बोकेर हिँडेका छन् उनले ।

‘अहिले स्किृप्ट पढिरहेको छु, सकभर फिल्म छानेरै खेलौं भन्नेमा सधै सचेत हुन्छु, जुन पायो त्यही फिल्म खेलेँ भने त्यो मेरो बिग्रने बाटो हुनेछ भन्नेमा म पूरै सचेत छु’, अग्रहरीले भने, ‘तर, हामीलाई गाह्रो पनि छ, स्किृप्ट छोड्यो भने पनि कति निर्माता त हामीसँग कड्किनुहुन्छ, उहाँहरुले पनि हामीलाई बुझिदिए हुन्थ्यो, कलाकारका पनि आफ्नै समस्या छन् नि ।’

कुराको अन्तमा उनले फिल्म क्षेत्रका बारेमा भने, ‘छक्का पञ्जा फिल्मले हिजो २५ करोडको बजार देखाइदिएकै हो, हामी कतै चुकिरहेका छौँ, नेपाली फिल्म अब मुम्बइया फिल्मबाट हट्नुपर्छ, ६ वर्षमा मैले बुझेको यही हो कि, हलसम्म दर्शक तान्न हामीले आफ्ना कथा भन्नैपर्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?