सिआइबीका डिएसपी जिसीको जागिर धरापमा, एसएसपी सुवेदीको काण्डमा छानबिन टोली  गठन

काठमाडौं । कञ्चनपुर जिल्लाको महेन्दनगरकी १३ बर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या घटनाको अनुसन्धान गर्न खटिएको सिआइबीका डिएसपी अंगुर जिसीको टोलीमाथि थप अनुसन्धान गर्न अर्को छुट्टै टोली गठन भएको छ । 

प्रहरी प्रवक्ता शैलेस थापाक्षेत्रीले सिआइवीका डिएसपी जिसीले निर्मला हत्याको अनुसन्धानका क्रममा गरेका कमिकमजोरीको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको जानकारी दिएका हुन् । 

यो टोलीले घटना विस्तृत छानबिन नभइ शुरुमा खटिएको सिआइबीको टोलीले गरेका कमिकमजोरीको अनुसन्धान गर्ने छ प्रवक्ता क्षेत्रीले भने–निर्मला हत्याको आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टले उन्मुक्ति पाएपछि डिएसपी जिसीमाथि कारवाही गर्न एसएसपी सुवेदीको नेतृत्वमा समिति गठन गरिएको हो । 

यसअघि प्रहरी प्रधान कार्यालयले निर्मला हत्याकाण्डको विस्तृत अनुसन्धान गर्न सिआइबीका एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको अनुसन्धान टोली घटनास्थलमा पठाएइ सकेको छ । 

एसएसपी सुवेदीको नेतृत्वमा गठित छानविन टोलीले तत्काल एसपी तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्ली सिंह विष्टसँग सहकार्य गरेर अनुसन्धानमा देखाएको कमिकमजोरी, त्रुटि र लापरवाहीलाई औल्याउने छ । 

सरकारले निर्मला हत्याकाण्डमा गम्भीर त्रुटि गर्नुका साथै हेलचेक्रयाइ र लापरवाही गरेको भन्दै एसपी विष्टलाई निलम्वन गरेको छ भने सिआइवी डिएसपी जिसी र मुद्दा प्रमुख प्रहरी निरीक्षक एकीन्द्र खड्कालाई कारवाही स्वरुप फिर्ता बोलाएको छ । 

एसएसपी सुवेदीले दिएको प्रतिवेदनका आधारमा डिएसपी जिसी र प्रहरी निरीक्षक खड्कालाई आवश्यक कारवाही गर्न सहज हुने जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ब्यूरो प्रहरीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ वर्षीय विष्ट बलात्कारमा संलग्न भएको बारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो । 

ब्यूरो प्रहरीको उक्त लापरवाहीका कारण अपराध अनुसन्धानमा दक्ष र अब्बल मानिएको सिआइबीको इमेज नै खस्किएको छ । सो घटनाका कारण प्रहरी संगठनप्रति नकारात्मक छाप परेको छ । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्या भएको भोलि पल्ट (साउन ११ गते) उखु बारीमा उनको शव भेटिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?