निर्मला पन्तका बुवाले रुँदै भने : ‘छोरीले न्याय नपाउने हो भने हामीलाई गोली ठोकिदिए हुन्छ’

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवाले आफ्नी छोरीको वास्तविक हत्यारा पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही नगरेसम्म आफूहरु गृहजिल्ला नफर्किने बताएका छन् । हीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बुवा यज्ञराज पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाएको गुनासो पोखे । 

उनले भने,‘उहाँको अभिव्यक्तिले बम दिदीबहिनीको मनोबल बढाउने काम भयो । तर, हजारौं छोरीहरुको मनोबल गिराउने काम भएको छ । प्रहरीले प्रमाण किन नष्ट गर्यो ? म नेपाली नागरिक हो कि होईन ? निर्मलाको हत्याको दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै गोली चलायो । गोली चलाउने प्रहरीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै बुवा यज्ञराजले आफूहरुले प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको गुनासो पोखे । उनले न्याय पाउनको लागि नै आफूहरु अधिकारकर्मीसहित काठमाडौं आइपुगेको स्पष्ट पारे । 

छोरी निर्मलाको हत्या भएको घट्नाबारे सुनाउने क्रममा बुवा यज्ञराज क्लबको साक्षात्कारमै भावविह्वल भए । छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लाश पनि त्यतै होला भनेको प्रसंग सुनाउँदै गर्दा पत्रकार सम्मेलनमै बुवा यज्ञराज रोए । 

रुमालले आँसु पुछ्दै उनले भने, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ । हामीलाई त प्रहरीमाथि नै शंका लागेको छ । हत्या भएको घट्नास्थललाई सिल गरिएन। प्रहरीले वास्तविक अनुशन्धान गर्ने काम गरेन । दिलिप सिंह विष्ट समातेर झुठो अपराधी खडा गर्ने काम गर्यो । मलाई विष्टविरुद्ध किटानी दिन जबरजस्ती गरिएको थियो । तर, मैले मानिन।’ प्रहरीले छोरी हराएकै दिन सहयोग गरिदिएको भए आफ्नी छोरीलाई जिवितै भेट्न सकिने थियो भन्ने उनको विश्वास थियो । 

बास्तविक अपराधीलाई जोगाउन चक्र बडू र दिलीपसिंह विष्टलाई प्रहरीले फसाउन खोजेको उनको आरोप छ । उनले भने,‘सुरुमा चक्र बडूलाई समातेर उसैविरुद्ध किटाणी जाहेरी दिन भनियो, त्यसपछि दिलीपसिंहलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेर हामीमाथि दबाब दिइयो । तर, हामीलाई विश्वास नै थिएन, उनीहरुबाट यस्तो काम हुने कुरामा । रोशनी र बबिता बम बस्ने घरबाट अनुसन्धान थालेर तत्कालीन् एसपी डिल्लीराज विष्टसहितमाथि छानबिन गर्ने हो भने सबै कुरा बाहिर निस्किन्छ ।’

प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुःखेको उनको गुनासो छ । उनले थपे,‘प्रधामन्त्रीले नै यसरी झुटो बोल्नुहुन्छ भन्ने लागेको थिएन, प्रधानमन्त्रीबाटै हामीले सौतेले व्यवहार भोग्नुप-यो । हामीले न्याय पाउनै नहुने हो ? हामी पनि यही देशका नागरिक हौँ त ।’
निर्मलाकी आमा दुर्गादेवी पन्तले घट्ना भएको ५० औं दिन बितिसक्दापनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट पारिन् । उनले भनिन्,‘देशको अभिभावकजस्तो व्यक्तिहरु प्रधानमन्त्री, राष्ट्रपति काठमाडौंमै हुनुहुन्छ । उहाँहरुले हामीलाई जसरीपनि न्याय दिलाउनुपर्छ ।’

उनले छोरीको हत्यामा प्रहरीको ठुला मान्छेको संलग्नता रहेकैले यसरी ढाकछोप गरिएको गुनासो पोखिन् । उनले भनिन्,‘हामीले सुरुदेखि नै बम दिदीबहिनी बस्ने घरबाटै अनुसन्धान गर्नुपर्छ भन्यौ । सुरुमा हाम्रो कुरा समेत पुलिसले सुनेन, छोरी पोइल गइहोली भन्ने जबाफ दिए ।’

नेपाल प्रहरीका आईजीपी गएर पनि पुलिसकै मान्छे भएपनि छाड्दैनौँ भनेको तर अहिलेसम्म केही नगरेपछि न्याय खोज्दै काठमााडौँ आएको दुर्गादेवीको भनाई छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मलालाई आफ्नै छोरी सम्झिएर न्याय दिलाउन आग्रह गरिन् । उनले भनिन्,‘न्याय नपाए हामी कसरी घर फर्किने ? अहिलेसम्म जसरी झुलाईयो, त्यसैगरि हामीलाई घर नफर्काईयोस् ।’
उनले यदि सरकारले आफूहरुलाई न्याय दिन सक्दैन भने हामी तपाईहरुलाई न्याय दिन सक्दैनौं भनेर भन्नुपर्ने पनि बताईन् । उनले भनिन्,‘यदि सरकारले हामीलाई न्याय दिन सक्दैन् भने हामी सक्दैनौं भन्नुप–यो । हामीलाई पनि गोली ठोकेर मारिदिए हुन्छ । तर, हामी न्याय नपाएसम्म घर फर्कदैनौं ।’

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो घोर आपत्ति 

कार्यक्रममा महिला अधिकारकर्मी शारदा चन्दले निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताउँदै आफूहरु न्याय माग्न काठमाडौं आएको बताईन् । 

उनले भनिन्,‘न्याय माग्न काठमाडौं आएका छौं । तर, हामी जहाँ–जहाँ जान्छौं, त्यहाँ–त्यहाँ हाम्रो पछि प्रहरीको सिआईडी छरिएका छन् । प्रहरीहरु त हत्या भएको ठाउँमा जानुपर्ने होईन र ? सरकारले निर्मलाको हत्यारा पत्ता नलगाउनु दुःखद् हो । राष्ट्रपति यो घट्नामा किन मौन बस्नुभएको छ ? नारीको अस्मितामाथि यत्रो प्रश्न उठ्दा पनि राष्ट्रपति किन मौन बस्नुभएको हो ? एक वर्षमा कञ्चनपुरमा २७ जना चेलीहरुको ईज्जत लुटिएको छ । तर राष्ट्रपतिज्यूले निर्मला पन्तको हत्याबारे किन बुझेरपनि बुझपचाउनुभयो ? तपाईलाई के बाध्यता भयो ?’

वास्तविक हत्यारा सार्वजनिक गर्दा सरकारनै ढल्ने हो भने सरकारलाई यस्तो बाध्यता के हो ? भन्दै उनले प्रश्नसमेत गरिन् । छानबिन समितिका ५ जनै सदस्य सरकार पक्षको भएकोले यो समिति निश्पक्ष नभएको उनको आरोप छ । उनले भनिन्,‘समितिमा कम्तीमा एक जना मानव अधिकारकर्मी राख्नुपर्छ । हत्याको अनुशन्धान गर्न गठित आयोगको म्याद १५ दिन किन थपियो ? हामी यसको घोर विरोध गर्दछौं ।’ उनले यसअघि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरेकी छिन् । 

निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोको पनि टोली खटिएकोमा सिआईबीका डिएसपी अंगुरले नै प्रमाणहरु नष्ट गर्ने काम गरेको उनको आरोप छ । उनले भने,‘एसपी डील्लीराज विष्टलाई निलम्बन गरेरमात्रै पुग्दैन्, बर्खास्त नै गर्नुपर्छ ।’

उनले एउटा अपराधी जोगाउनुपर्ने कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले भनिन्,‘अपराधी कति बलियो छ ? एउटा व्यक्तिलाई जोगाउन किन यस्तो हुँदैछ?’ उनले प्रधानमन्त्रीले एनटिभीमा दिएको एक अन्तर्वार्तामा हावादारी कुरा बोलेको पनि आरोप लगाईन् । 

उनले भनिन्,‘मेयरको घरमा निर्मलाको शब लगियो भनेर प्रधानमन्त्रीले हावा कुरा बोल्नुभयो । प्रधानमन्त्रीको भनाईमा कुनै सत्यता छैन । म घोर विरोध गर्दछु।’ 

उनले छानबिन समितिका सदस्य विरेन्द्र केसीले केही दिन रिपोर्टर्स क्लबमा बोल्दै आफूले समितिबाट राजिनामा दिएको जानकारी गराएको तर दुई दिन नबित्दै पूनः समितिमा फर्किएको बताउँदै आफूहरुलाई केसीप्रति नै शंका रहेको बताईन् । उनले भनिन्,‘केसीले थुकेको थुक किन चाट्नुभयो ?’

त्यस्तै कार्यक्रममा अर्की अधिकारकर्मी माया नेगीले निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाएर दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरिन् । उनले भनिन,‘प्रमाण नष्ट गर्ने प्रहरीलाई कठघरामा उभ्याउनुपर्छ । वास्तविक हत्यारालाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।’

सरकारप्रति आफूहरुको आशा नभएको उनको गुनासो छ । उनले भनिन्,‘प्रधानमन्त्री ओलीप्रति हामी निराश छौं । समितिलाई हामीले काम गर्न दिएनौं भनेर प्रधानमन्त्रीले झुटो कुरा बोल्नुभयो । टिकापुर घट्ना घटाउन खोजिएको छ भनेर हामीमाथि आरोप लगाउनुभयो । हामी कञ्चनपुरवासी के मोदीका जनता हौं र ?’

त्यस्तै, अर्की अधिकारकर्मी मीना भण्डारीले ३३ प्रतिशतभन्दा बढि महिला जनप्रतिनिधि हुँदा पनि नेपाली चेलीहरु यति ठूलो अन्यायमा पर्दा किन आवाज उठ्दैन भनेर प्रश्न गरिन् । उनले भनिन्,‘किन चेलीले न्याय पाउँदैनन् । महिला जनप्रतिनिधिहरुको बोली किन फुक्दैन् ।’

उनले निर्मला पन्तको बलात्कारपछिको हत्याको अपराध लुकाउन किन कोशिस गरियो भन्ने प्रश्न गरिन् । उनले भनिन्,‘४८ दिनसम्मपनि न्याय नपाएपछि हामी बाध्य भएर काठमाडौं आएका छौं । अब सरकारले हामीलाई न्याय दिलाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्ति निन्दनीय भएपनि आफूहरु अझैपनि सरकारप्रति आशावादी नै रहेको उनको भनाई छ । उनले भनिन्,‘प्रधानमन्त्रीले अब पीडितको कुरा सुन्नुपर्छ । न्याय नपाएसम्म हामी खाली हात घर फर्कदैनौं । राज्यले हामीलाई अवहेलित गरेको छ । सरकारले हामीलाई न्याय दिनैपर्छ ।’ सरकारले वास्तविक अपराधीलाई पत्ता लगाउन सक्दैन भने आफूहरुलाई यो सरकार नचाहिने उनको भनाई छ । 

त्यस्तै अधिवक्ता पुष्पराज पौडेलले नेपालको प्रहरी अनुशन्धानमा अब्बल रहँदै आएको ईतिहाँस भएपनि निर्मलाको बलात्कारपछिको हत्यामा संलग्न वास्तविक दोषीलाई पत्ता लगाउन नसक्दा आफूहरुलाई प्रहरीको भुमिकामाथि आशंका पैदा भएको आरोप लगाए । 

उनले भने,‘प्रहरीले घट्नाको ढाकछोप गर्न प्रमाणहरु नष्ट गर्यो । मृत्तक निर्मलाको डिएनए प्रोफाईल तयार भैसकेकोले अब घट्नामा संलग्न भनेर शंका व्यक्त गरिएका व्यक्तिहरुको पनि डिएनए प्रोफाईल तयार पार्दा वास्तविक अपराधी पत्ता लाग्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?