लमजुङमा सवारी कारबाहीबाट ५६ लाख १६ हजार राजश्व संकलन

लोकपथ
42
Shares

लमजुङ । लमजुङमा आर्थिक वर्ष २०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख १६ हजार रुपैया राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधानमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् ।

जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ । सो बाहेक गत आर्थिक वर्षमा दुई हजार १२७ कार जिप कारबाहीमा परेका छन् । कारबाहीमा परेका कार जिपबाट १३ लाख ९ हजार राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा एक हजार १४३ ट्रक/टिपर, ७०१ ट्याक्टर, ४९८ बस र ११७ अन्य सवारीसाधान कारबाहीमा परेका छन् । कारबाहीमा परेका ट्रक/टिपरबाट सात लाख २५ हजार ५०० , ट्याक्टरबाट चार लाख ४७ हजार, बसबाट तीन लाख दुई हजार र अन्यबाट ८१ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा लमजुङमा पाँच हजार ४७६ सवारी कारबाहीबाट ३४ लाख ५५ हजार राजश्व संकलन भएको थियो । जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्युनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?