पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । 

सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ । 

सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए । 
गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो । 

पाल्हीनन्दनमा रुख कटान 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ लङ्गडीपाकडस्थित गण्डक नहरमा रहेका रुख अवैध रूपमा कटानी भएको छ । केही स्थानीयबासीले ले लङ्गडीपाकड गाउँको उत्तरतर्फ रहेको पश्चिम गण्डक नहरसँगै रहेको पुसहा नदीदेखि पश्चिम ९५ नम्बर भन्ने पुलसम्म करीब २५ काँचो रुख कटान गरिएको जनाएका छन् । 

स्थानीयवासीले जिल्ला वन कार्यालयमा दिएको निवेदनमा सिसम १८ थानसहित गुल्लर र सफेदा गरी करीब २५ रुख कटान भएकाले कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेको स्थानीयवासी रामचन्द्र मालीले जानकारी दिए । 

उक्त कार्यालयले भने ती रुख अनुमतिविनै काटिएकाले उक्त काममा संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गरिने जनाएको छ । 

उक्त कार्यालय र सेक्टर वन कार्यालय बन्जरीयांले रुख कटानमा संलग्न व्यक्तिलाई कारबाही गर्न चासो नदेखाएको स्थानीयवासीको आरोप छ । अहिले कटान भएका रुखका गोटाहरु लङ्गडीपाकड गाउँमा राखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?