आर्थिक अभावले कागज उद्योग बन्द, ‘जग्गाको लालपूर्जा देखाउँदा समेत ऋण पाइँदैन्’

युवराज पंगाली /  दैलेख । आर्थिक अभावका कारण दैलेख गुराँस गाउँपालिका ७ ओखरेनीमा रहेको हाते कागज उद्योग बन्द भएको छ । 

यसको प्रमुख कच्चा पदार्थको रुपमा रहेको लोक्ता प्रसस्त हुँदाहुँदै पनि आर्थिक अभावमा कागज उद्योग बन्द भएको हो ।

गाउँपालिका वडा नं. ७ मा रहेको प्रेम नेपाली हाते कागज उद्योगका सञ्चालक प्रेम बहादुर रामजालीले आर्थिक अभावका कारण केही वर्षदेखि उद्योग बन्द गर्नुपरेको बताए ।

२०४९ सालमा उद्योग दर्ता भएको थियो । त्यसपछि नेपालमा चर्किको द्वन्द्वका कारण सञ्चालन गर्न नसकिएको भन्दै रामजालीले अहिले पूनः शुरुवात गर्ने सोच बनाएको तर, आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिएको बताए ।

उनले ऋणमा रकम पाउने आकांक्षाका साथ बैंक तथा वित्त संघसंस्थाहरुमा जग्गाको लालपूर्जा देखाउँदा समेत ऋणको व्यवस्था नभएको उनको गुनासो छ । उनले रकम जुटाईदिन आग्रह समेत गरेका छन् ।

उनले भने, ‘मैले कागज उद्योग पुनः सञ्चालनको लागि ऋण लिन बैंकमा, कृषि कार्यालयमा गए, तर मैले ऋण पाइन् ।’ उनले थपे ‘अहिले पनि उद्योग बन्द छ । तर, मैले दर्ता नविकरण गरिरहेको छु र कर पनि तिरिरहेको छु ।’

उनले व्यवसाय सञ्चालन गर्छु भन्ने व्यक्तिलाई प्रोत्साहन नदिने सरकार र विभिन्न गैर सरकारी संघसंस्थाहरुदेखि वाक्क लागेको भन्दै आफूलाई अहिले कागज उद्योग सञ्चालन गर्न २० लाख रकम आवश्यक रहेको बताए ।

उक्त कागज उद्योग सञ्चालनका बेला १६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए । तर, अहिले उद्योग बन्द हुँदा आफुहरु बेरोजगार बस्नुपरेको उद्योगमा संग्लग्नहरुले बताए ।

उद्योगमा काम गरेका रत्न बहादुर घर्तीले कागज उद्योग सञ्चालन हुँदा कमाई गर्न सजिलो भएको थियो । तर, अहिले समस्या भएको बताए ।

उनले कागज उद्योग सञ्चालन भए धरै नाफा हुने भन्दै यसको सञ्चालनको लागि आवश्यक पहल हुनुपर्नेमा जोड दिए ।

कागज उद्योग गुराँस गाउँपालिकाकै पहिलो उद्योग हो । तर, यसको सञ्चालनको लागि गाउँपालिकाले केहि पहल गर्नुपर्ने स्थानीय जानकारहरु बताउँछन् । 

उद्योग सञ्चालनको लागि चाहिने कच्चा पदार्थ लोक्ताको बिरुवा हो, यो वडा नं. ७ को जंगलमा प्रसस्त पाइने गर्दछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?