दुई वर्षदेखि रुम्जाटारमा विमान उडान रद्द, विमान कम्पनी भन्छन्, खै प्लेन चढ्ने यात्रु?

काठमाडौं । रुम्जाटार विमानस्थल, ओखलढ्ंगा जिल्लाको एक मात्र हवाइमार्ग । 

पाँच वर्ष अगाडिसम्म विमान यात्रुले खचाखच भरिने यो विमानस्थल अहिले सुनसान छ । एक समय दिनमा तीन-चार पटकसम्म उडान भर्ने रुम्जाटार विमानस्थल हाल युवा युवतीको घुम्ने र फोटो खिच्ने ‘जक्सन’ बनेको छ । 

करीब चार दशकसम्म कच्ची धावनमार्गबाटै नियमित उडान र अवतरण गर्दै आएको उक्त विमानस्थलमा कालोपत्रे भएपछि भने सबै विमान कम्पनीहरुले उडान रद्द गरेका थिए । कारण, खै प्लेन चढ्ने यात्रु ?

 

समुन्द्र सतहदेखि ४ हजार ५ सय मिटर माथि रहेको यो विमानस्थलको रनवेको लम्बाई ५ सय ८५ मिटर छ ।

करीब चार दशकसम्म कच्ची धावनमार्गबाटै नियमित उडान र अवतरण गर्दै आएको उक्त विमानस्थलमा कालोपत्रे भएपछि भने सबै विमान कम्पनीहरुले उडान रद्द गरेका थिए । कारण, खै प्लेन चढ्ने यात्रु ?

उडान रद्द गर्ने विमान कम्पनीहरुले विमान चढ्ने यात्रु न्यून भएकाले रद्द गर्नुपरेको बताउँछन् ।

सो विमानस्थलमा नियमित रुपमा नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले उडान भर्दै आइरहेको थियो । तर, कालोपत्रे भएपछि एकाएक विमान उड्नै छोडे ।

 

हाल रुम्जाटार विमानस्थलको कालोपत्रे धावनमार्ग

स्थानीय गीता गुरुङ भन्छिन्, ‘काठमाडौंदेखि रुम्जाटारसम्म सडक सञ्जालले जोडेसँगै प्लेन देखिन छाडे, पहिले कच्ची धावनमार्ग हुँदा दिनदिनै प्लेन आइराख्थे, अहिले प्लेन हेर्न पनि आकाशतिर हेर्नुपर्ने बाध्यता छ ।’

प्लेन नआउँदा बिरामीलाई काठमाडौं लैजान निक्कै गाह्रो भएको स्थानीयहरु गुनासो गर्छन् । रुम्जाटारदेखि सदमुकाम ओखलढुंगासम्मको बाटो पनि कच्ची छ । भखर्रै मात्र कालोपत्रे हुने काम सञ्चालन भइरहेको छ ।

रुम्जाटारदेखि सदरमुकाम ओखलढुंगासम्म जोड्ने कच्ची सडक

‘सिकिस्त बिरामीलाई काठमाडौंको अस्पतालसम्म पुर्‍याउन लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्छ, हुने खानेले हेलिकप्टर चार्टर गर्छन्, पैसा नहुनेले मृत्यु कुरेर बस्नुबाहेक विकप्प छैनन् ।’ गीताले दुखेसो पोखिन् । 

चार दशकअघि रुम्जाटार विमानस्थलको कच्ची धावनमार्ग

नेपाल सरकारले करौंडो रुपैयाँ लगानी गरेर निमार्ण गरेको उक्त विमानस्थल सञ्चालनमा नआउँदा लगानी ‘बालुवामा पानी खनाए सरह’ भएको छ । धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले उदयपुरको कन्ट्रक्सनसँग तीन करोड ३९ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

वि.स २०६८ जेठमा सम्झौता भएको कालोपत्रे गर्ने कार्य वि.स २०६९ साल भदौमा नै काम सम्पन्न गरिसक्नुपर्ने भनिए पनि ठेकेदारको लापरवाहीका कारण निर्धारित काम लगभग २ वर्षपछि सम्पन्न भएको थियो ।

सबैसँग ‘हेलिकप्टर चार्टर’ गर्ने हैसियत छैन । बिमार पर्दा गाउँलेको भुटभुटी बढ्न थाल्छ । ‘विमान यात्रुहरु कम छन्, बरु हप्तामा एकपटक भएपनि प्लेन सञ्चालनमा आए हामीलाई काठमाडौं आवत-जावत गर्न सजिलो हुन्थ्यो ।

बैंकमा काम गर्दै आएकी स्थानीय सजना गुरुङ भन्छिन्, ‘विमानस्थलको निमार्ण काम पनि सकिनु, प्लेन पनि नआउनु संयोग होला, काम सकिएपछि एक/दुईपटक मात्र प्लेन आए होला, त्यसपछि देखिएको छैन ।

उनका अनुसार अहिले यहाँ चार्टर गरेका हेलिकप्टर मात्र आउँछन् । सबैसँग ‘हेलिकप्टर चार्टर’ गर्ने हैसियत छैन । बिमार पर्दा गाउँलेको भुटभुटी बढ्न थाल्छ । ‘विमान यात्रुहरु कम छन्, बरु हप्तामा एकपटक भएपनि प्लेन सञ्चालनमा आए हामीलाई काठमाडौं आवत-जावत गर्न सजिलो हुन्थ्यो ।’, सजनाले आशावादी हुँदै भनिन् ।

नेपाल एयरलाइन्स कम्पनीका सहप्रवक्ता शैलेस कंशकारले भने विमान यात्रुको अभावमा एयरलाइन्सहरु रद्द गर्नु परेको बताए ।

‘जुन स्थानमा सडक सन्जाल पुगेको थिएन, त्यहाँ हवाइ उडान भइरहेका थिए, तर अहिले धेरै ठाउँमा सडक सन्जाल पुगेकाले धेरै यात्रु सडकलाई माध्यम बनाउन थालेका छन्’, कंशकारले अगाडि थपे, ‘अहिले प्लेन र गाडीमा प्रतिस्पर्धा हुन थालेको छ, २८ वर्ष अघिसम्म नेपालले एयरलाइन्सले ३९ वटा आन्तरिक उडान भरेको थियो, अहिले २६ ठाउँमा उडान भर्दै आइरहेको छ ।’

उनका अनुसार हप्तामा तीन-चारजना यात्रु हुन्छन् । त्यतिले त्यहाँ उडान भर्न सकिँदैन । प्लेन भाडा महंगो छ । फ्लाइट राखेर मात्र केही हुँदैन । सातामा कम्तिमा पनि तीन पटकसम्म फ्लाइट हुनुपर्छ एकपटक मात्र उडान भर्न सकिँदैन ।

नेपालको एक मात्र वायुसेवा निगम नेपाल एयरलाइन्स र निजी विमान कम्पनीले रुम्जाटार विमानस्थलमा उडान भर्न नसक्दा त्यहाँका बासिन्दा मर्कामा परेको गुनासोहरु आइरहेका छन् ।

पर्यटन नीतिमा विमान कम्पनीले ६० प्रतिशत बाह्य र ४० प्रतिशत दुर्गम क्षेत्रमा उडान भर्ने व्यवस्था छ । तर, नेपाल एयरलाइन्स र निजी विमान कम्पनीहरुले सो नियमको भने लागू गरेको पाइँदैन । यसको जिम्मेवारी कसले लिने ?

किन बन्द हुँदैछन् अधिकांश विमानस्थल ?

नेपालको दुर्गम तथा सुगम ठाउँका २० भन्दा बढी विमानस्थल यात्रुको अभावले बन्द भएको नागरिक उडड्यन प्राधिकरण जानकारी दिएको छ ।

नेपालका प्रायः ठाउँमा सडक सञ्जाल जोडिसकेको छ, प्लेनमा यात्रुहरु नै त्यति हुँदैनन्, त्यही भएर एयलाइन्स कम्पनीहरुले विमानस्थलहरु बन्द गरेका हुन् ।

देशभर सडक सञ्जालको पहुँच बढ्न थालेपछि सो विमानस्थलहरु बन्द भएका प्राधिकरणका प्रवक्ता वीरन्द्रप्रसाद श्रेष्ठले बताए । ‘नेपालका प्रायः ठाउँमा सडक सञ्जाल जोडिसकेको छ, प्लेनमा यात्रुहरु नै त्यति हुँदैनन्, त्यही भएर एयलाइन्स कम्पनीहरुले विमानस्थलहरु बन्द गरेका हुन् ।’ श्रेष्ठले भने । 

‘नेपाल एयरलाइन्स र निजी विमान कम्पनीहरुले उडान भर्छ भने हामी पुनः रुम्जाटार विमानस्थल सञ्चालनमा ल्याउन तयार छौँ, विमानस्थलको रनवे, टावरदेखि लिएर सबै तयारी अवस्थामा छ’, उनले थपे, ‘हामी विमानस्थल सञ्चालन गर्न जुनसुकै समयमा पनि तयार छौँ ।’

श्रेष्ठले भने, ‘हामीले यसअघि पनि बन्द भएको बाग्लुङ र राजविराजको विमानस्थल सञ्चालनमा ल्याइसकेका छौँ, नेपाल एयरलाइन्स, निजी विमान कम्पनी र रुम्जाटारको नगर प्रमुख बसेर प्रत्यक्ष कुरा गर्ने हो भने यो समस्याका चाँडै समाधान गर्न सकिन्छ ।’

साथै, उनले अरु सवारी साधनको तुलनामा हवाईमार्ग निक्कै खर्चिलो भएकाले पनि सडक पुगेका विमानस्थल बन्द हुने अवस्थामा पुगेको बताए ।

नेपाल नागरीक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार हाल देशभर ५८ वटा विमानस्थल छन् । जसमध्ये २९ वटा विमानस्थल मात्र सञ्चालनमा छन् भने बाँकी २० वटा बन्द छन् ।
त्यस्तै, ९ वटा विमानस्थल निर्माणाधीन अवस्थामा रहेका छन् ।

यात्रु अभावमा ओखलढुंगाको रुम्जाटार विमानस्थल, साँफेबगर विमानस्थल, डोटी, महेन्द्रनगर, दार्चुला, बैतडी, दोलखा, रसुवा, गोरखा, बागलुङ्ग, रोल्पा, टिकापुर, बझाङ्ग मेघौली र कमलबजार विमानस्थल थन्किएका छन् ।

नयाँ विमानस्थल निर्माणका लागि अध्ययन 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले १५ स्थानका लागि विमानस्थल निमार्णको लागि माग आएको छ ।

साथै, प्राधिकरणले नयाँ विमानस्थल निर्माणका लागि अध्ययन भइरहेको जनाएको छ ।  विमानस्थल निमार्णका लागि चुहान डाँडाको तेह्रथुम, धरान, सोलुखुम्बुको गुडेल, हुम्लाको मनदखोला, पाल्पाको रामपुर, सुर्खेतको रामघाट लगायका क्षेत्रमा प्रस्ताव आइरहेको छ ।

सो विमानस्थलको अध्ययन गर्न करीब दुईदेखि तीन वर्ष समय लाग्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, जहाज उडान तालिका नभए पनि ७ स्थानका विमानस्थल आकस्मिक अवतरणका लागि सञ्चालन रहेका छन्  । लामिडाँडा, रामेछाप, रुकुम चौर जहरी, रुकुम सल्ले, रुम्जाटार, ताप्लेजुङ र थामखर्क विमानस्थलमा विनातालिका विमान सञ्चालनमा रहेका छन् । 

सडक सञ्जाल प्रयोग गर्ने बढ्यो 

पछिल्लो समय मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी-खुर्कोट सडकखण्ड सञ्चालनमा आएसँगै रुम्जाटार, ओखलढुंगा लगायतका यात्रुहरु बढी मात्रामा सडक मार्ग प्रयोग गर्दै आइरहेका छन् ।

 

सडक सञ्जाल नहुँदा विमानको टिकट पाउन मुस्किल पर्ने रुम्जाटारका बासिन्दाहरु अहिले गाडीबाट नै काठमाडौं आवत-जावत गर्ने गरेका छन् । ओखलढुंगादेखि काठमाडौँसम्म कालोपत्रे सडक भएका कारण पनि पछिल्लो समय सडक सञ्जाल प्रयोग गर्ने यात्रुहरु बढेका हुन् । 

तर, रुम्जाटारका बासिन्दा भने पुनः विमान सञ्चालन हुनेमा आशावादी छन् । सरकारले करोडौं रुपैयाँ लगानीमा विमानस्थलमा निर्माण गरेको भौतिक पूर्वाधार अलपत्र मात्र बनेको छैन, खण्डहरमा समेत हुने सम्भावना पनि उत्तिकै छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?