एन्फाद्वारा एपी–वान टिभीसँगको सम्झौता रद्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ एपी–वान टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । 

नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–वान टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको हो ।    

‘टेलिभिजनसँगको छलफलमै प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौँ’ एन्फा प्रवक्ता किरण राईले भने । 

गत वर्ष जेठमा एन्फा र एपी–वानबीच तीन वर्षका लागि पाँच करोडको प्रायोजन सम्झौता भएको थियो जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो ।

सहमतिअनुसार एपी–वानले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको थियो । सो बापत उक्त टिभीले ‘एन्फा’लाई वार्षिक एक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो । 

यसैबीच ‘एन्फा’ले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजकको रुपमा रामशर मिडिया प्रालिले एन्फालाई पहिलो वर्ष एक, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोड रुपैया दिने प्रवक्ता राईले जानकारी दिए । 

सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?