निर्मला हत्याको ‘जड’ एसपी विष्ट, अपराधीको पहिचानमा अवरोध !

कञ्चनपुर । यतिखेर कञ्चनपुर जिल्ला महेन्द्रनगरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाले सिंगो मुलुकलाई नै स्तब्ध बनाएको छ । मृतक छोरीको न्यायको माग गर्दै निर्मलाका बुबा र आमा महेन्द्रनगरबाट काठमाडौंसम्म आइपुगेको चार दिन बितेको छ । 

उनीहरुको चार दिनको काठमाडौं बसाइ सञ्चारकर्मी र अधिकारकर्मीहरुसँग भेटघाट गर्ने, घटनाको बेलिबिस्तार गर्ने र छोरीको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको माग गर्दैमा बितेको छ । निर्मलाको हत्या भएको करीब दुई महिना पुग्नै लाग्यो । तर पनि निर्मलाको वास्तविक हत्यारा को हो? अझै रहस्यमय नै छ । यतिखेर आम सर्वसाधारण भन्छन, ‘निर्मलाको हत्यारा को हो? सो तथ्य सार्वजनिक भएपनि केही राहत हुन्थ्यो ।’

नेपाल सरकारले सहसचिवको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिदेखि सीआइबीका एसएसपीको कमाण्डमा विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको छ । तर, नतिजा ‘हात लाग्यो शून्य’ जस्तै भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिका निर्मलाको बलात्कारपछि हत्या नै भएको प्रतिवेदन तयार पारेको छ । तर, त्यो प्रतिवेदनअनुसार, घटनास्थल मुचुल्का तयार नपारेको आरोप सर्वसाधारणको छ । यतिसम्म कि, घटनास्थल बरामद मुचुल्का तयार पार्न गएका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक एकीन्द्र खड्काले निर्मलाको कुर्ता र यौनङग पानीले पखाल्न लगाएका थिए ।

त्यहाँ जम्मा भएका सर्वसाधारणले समेत यसरी प्रमाण नष्ट नगरिदिन आग्रह गर्दा गर्दै उनले जबरजस्ती यस्तो हर्कत देखाएपछि सर्वसाधारण र पीडित परिवार झन आक्रोशित बनेका थिए ।

५० दिनको अनुसन्धान शून्य

बालिका निर्मला पन्तको हत्या भएको आज ५० दिन पुगेको छ । साउन १० गते बिहान ११ बजे साथी रोशनी बमलाई भेट्न हिँडेकी निर्मलाको ११ गते बिहान उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्था शव फेला परेको थियो ।

भदौ २९ भइसक्दा पनि निर्मला हत्याको कुनै सुइँको पाइएको छैन । घटनास्थलमा तैनाथ सीआइबीका एक अनुसन्धान अधिकृतले भने अनुसन्धान जारी छ । प्रहरीले निर्मलाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरेरै छोड्ने प्रतिवद्धता समेत जनाए ।

घटनास्थलको बरामदी मुचुल्कामा नै हेलचेक्र्याइँ

निर्मलाको हत्या भएको घटनास्थानलको बरामदी मुचुल्का लिन आएको प्रहरी टोलीको व्यवहार देखेर नै सर्वसाधारण आक्रोशित र आन्दोलित भइसकेका थिए । जिम्मेवार प्रहरी अधिकारीले नै घटना ढाकछोप गर्ने, प्रमाण नष्ट गर्ने जस्तो हर्कत देखाएपछि स्थानीय आक्रोशित भएका हुन् ।

उनीहरुले निर्मलाको शव नजिकै फेला परेका सुरुवाल र यौनाङग नधुन र नपखाल्न समेत आग्रह गरेका थिए । तर, मुद्दाका प्रहरी निरीक्षक एकीन्द्र खड्काले हामीलाई अनुसन्धानको विषयमा सिकाउने भन्दै उल्टै हप्काएका थिए । जुन हप्काइले उनलाई जागिरबाट हात धुनुपर्ने अवस्थामा पु¥याएको छ ।

प्रहरीले समयमा नै सम्बोधन नगर्दा 

विशेष गरी सुदूरपश्चिम क्षेत्रमा सुदूरपश्चिमकै ९ जिल्लामा घर भएका प्रहरी कर्मचारीहरुको वर्चस्व बढी छ । उनीहरु कहीँ न कहीँ कसैको नातेदार तथा आफन्त पर्ने गर्छन् । प्रहरी सेवा शुभारम्भ गरेदेखि राजनीतिक पावर, भनसुन र चाकडीका भरमा सुदूरपश्चिमको ९ जिल्ला छोड्न मान्दैनन् ।

उनीहरु प्रहरीको काम कर्तव्य र पेशागत भन्दा नातावादमा बढी प्रयोग हुने गर्छन् । निर्मला हराएको रात प्रहरीलाई खोजीका लागि खबर गर्दा उल्टै धम्की आउनुको मुख्य कारण यो पनि हो ।

पीडित परिवारले निर्मला हराएको दिन साँझ पाँच बजेबाट नै उनको खोजी शुरु गरेको थियो । बस्तीनजिकै रहेको अस्थायी प्रहरी कार्यालयमा जाँदा उनीहरुले वडा कार्यालयमा खबर गर्न अह्राए । तर, आफू पन्छिए । त्यस्तै, वडा प्रहरी कार्यालयको प्रहरीले पनि जिल्लामा फोन गर्न भन्दै आफू पनि पन्छिए । 

जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको सूचना दिँदा राति ११ बजिसक्यो अब भोलि भन्ने जवाफ आउनु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी सर्वसाधारणको सेवाप्रति कति जिम्मेवार र बफादार छ भन्ने कुरा प्रष्ट हुन्छ । 

घामड र घमण्डी एसपी 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत अन्य प्रहरी कर्मचारीभन्दा ‘घामड’ मानिन्छन् एसपी डिल्लीसिंह विष्ट । उनी सधै आफूलाई सुदूरपश्चिम क्षेत्रको राजा नै ठान्छन् । त्यसकारण प्रहरी निरीक्षकमा सेवा अवधि शुरु गरेदेखि उनको प्राय सबै पोष्टिङ सुदूरपश्चिम क्षेत्रमा नै भएका छन् । 

उनले निर्मला घटनालाई सामान्य घटनाको रुपमा मूल्याङकन गरेका थिए । किनकि निर्मला कुनै सम्पन्न र राजनीतिक परिवारकी छोरी चेली थिइनन् । उनलाई लाग्यो, निर्मला हत्याकाण्ड त्यतिकै ‘थामथुम’ हुन्छ ।

तर, एसपी विष्टकै कारण निर्मला हत्या घटनाले उग्र रुप लियो, एक जना बालकले प्रहरीको गोली लागेर ज्यान गुमाए, घाइते भएका दुईजना अझै अचेत छन् । 

केन्द्रबाट खटिएको सीआइबीको टोलीलाई समेत प्रभावित तुल्याई उनले निर्मला हत्या घटनाका नक्कली अभियुक्त तयार पारे । जुन व्यक्ति मानसिक रुपले अस्वस्थ र डीएनए परीक्षण गर्दा पनि मेल नखाएपछि मुक्त भएका छन् ।

विष्टको लापरवाहीका कारण सिङ्गो संगठन बदनामी

एसपी डिल्ली विष्टको समयमा नै सद्बुद्धि नआइदिँदा निर्मला हत्या घटनाले सिंगो प्रहरी संगठनलाई बदनामी गराइदिएको छ । निर्मला हत्याको उजुरी आएकै रात दुईजना प्रहरी कर्मचारी खोज्न पठाइदिएको भए आज सम्भवतः यस्तो घटना दोहोरिने थिएन ।

त्यस्तै, पछिल्लो दिन हत्या भएको अवस्थामा शव फेला पर्दा घटनास्थलको बरामदी मुचुल्का तयार पार्नेदेखि शंकाको घेरामा रहेका रोशनी बमका दिदीबहिनीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिदिएको भएपनि घटनाले उग्ररुप लिने थिएन । 

घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘रोशनी कि दिदी बबिताले नै निर्मलाकी आमाप्रति गरेको व्यवहार र बोली बचनले घटनाको योजनाकार कतै उनै हुन् कि भन्ने आशंका जागेको थियो ।’

निर्मलाको हत्यामा उनीहरुको संलग्नता थियो या थिएन त्यो अनुसन्धानमा देखिने कुरा हो । घटनाका प्रत्यक्षदर्शी कविता भट्ट भन्छिन्, ‘बबितालाई नियन्त्रणमा लिई सोधपुछ गरिदेऊ भन्दा पनि गरेनन् । उल्टै हामीलाई हप्काउने र धम्क्याउने काम भयो ।’

निलम्बित एसपी विष्टलाई अब ६ महिना जेल ५० हजार जरिवाना

निर्मला हत्या घटनालाई ढाकछोप गर्न एसपी विष्टले मानसिक रोगबाट पीडित दिलिपसिंह विष्टलाई जबरजस्ती फसाएको भन्दै दिलिपको परिवारले एसपी विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 

सो मुद्दा दर्ता भएसँगै विष्टलाई पाँच महिना जेल ५० हजार जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ । 

सीआइबीका डीएसपीमाथि अनुसन्धान

शुरुमा निर्मला हत्याको अनुसन्धान गर्न महेन्द्रनगर पुगेका सीआइबीका डीएसपी अंगुर जिसी सहितको टोलीमाथि अनुसन्धान गर्न एसएसपी उत्तम सुवेदीको कमाण्डमा छानबिन टोली गठन गरिएको छ । निर्मला हत्या घटनामा नक्कली अभियुक्त तयार पारेको अभियोगमा डिएसपी जिसी लगायतको टोलीलाई निलम्बन गरिनेछ ।

निर्मला हत्या, महिला अधिकारकर्मीको नौटंकी

निर्मलालाई न्याय दिलाउने नाममा उनका बुबा–आमालाई काठमाडौंसम्म बोलाई महिला अधिकारकर्मीले अर्को फण्डा गरेका छन् ।

उनीहरुले निर्मलाका बुबाआमालाई राजधानी बोलाई आँखाबाट आँसु झार्न लगाउने र घटनाको बेलिबिस्तार गर्ने बाहेक न्यायका लागि उपलब्धिमूलक काम गरेको पाइँदैन । सामान्य गुजारा गरी जीविकोपार्जन गरिरहेको पन्त परिवारलाई राहतको साटो आहात हुने कार्य भइरहेको आरोप सर्वसाधारणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?