कैलालीको जानकीमा अख्तियारको छापा, सम्बन्धित कागजात नियन्त्रणमा

लोकपथ
917
Shares

गोविन्द बीसी-काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार छापा मारेको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा भ्रष्टाचारजन्य कसुर भएको आशंकामा अख्तियारले कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । जानकी गाउँपालिकाको वडा नं. ९ को वडा कार्यालयले मृत्यु भएका ब्यक्तिको नाममा फर्जी कागजात मिलान गरी आर्थिक हिनामिना गरेको उजुरीपछि कागजात नियन्त्रणमा लिएको कार्यालयका शाखा अधिकृत तथा सूचना अधिकारी चन्द्रकान्त बस्नेतले लोकपथलाई जानकारी दिए ।

सूचना अधिकारी बस्नेतकाअनुसार विगत २०७५ सालदेखिको सामाजिक सुरक्षाभत्ता वितरणमा भ्रष्टाचारजन्य गतिविधि भएको कार्यालयमा उजुरी प्राप्त भएपछि छानबिन गरिएको छ । बस्नेतले कार्यालयमा प्राप्त भएको उजुरीका आधारमा उजुरीसँग सम्बन्धित कागजपत्र नियन्त्रणमा लिइएको बताए ।

उनले भने, ‘ गत साउन १० गते कार्यालयमा उजुरी परेको थियो । तत्पश्चात कागजपत्र नियन्त्रणमा लिएर हामीले अनुसन्धान सुरु गरेका छौँ । तथ्य, प्रमाणको संकलन गरी प्रारम्भिक अध्ययन सुरु भएको छ । छानबिनपछि संलग्न कर्मचारीमाथि कसुर बमोजिमको कारबाही माग दाबीसहित विषेश अदालतमा मुद्दा दर्ता गर्छाैँ ।’

उनले आर्थिक वर्ष २०७४/०७५ देखिका उजुरीसँग सम्बन्धित कागजात नियन्त्रमा लिइएको बताए । ‘मृत्यु भएकाको नाममासमेत बैंक खाता खोलिएको देखियो, त्यसैले हामीलाई यसमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्नुपर्छ भन्ने लागेपछि उजुरीसँग सम्बन्धित कागजपत्रहरु वडा कार्यालय र गाउँपालिका कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछाैँ, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?