संविधान दिवसमा हाफ म्याराथन हुने

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
 
हाफ म्याराथन असोज २ गते हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिए । 
 
म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लबका साथै अन्य गरी करिब १ सय खेलाडीको सहभागिता अनुमान गरिएको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुने म्याराथनमा पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार पाउने छन् । 

चौथो हुनेलाई १० हजार नगद प्रदान गरिने छ भने पाँचौं र छैटौं हुनेलाई जनही ५ हजार नगद पुरस्कार दिइने छ ।

म्याराथन त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु हुँदै त्रिपुरेश्वर चोक, थापाथली, माईतीघर, बबरमहल, मिनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सृजनानगर, सल्लाघारी तीनकुने हुँदै पुनः सोही रुट हुँदै त्रिपुरेश्वरस्थित राखेप हातामै आएर टुंगिने छ ।

संविधान दिवसकै अवसरमा नेपाल रातो र नेपाल नीलो टिम बनाएर टी–२० मैत्रीपूर्ण क्रिकेट पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए । असोज २ गते नै हुने मैत्रीपूर्ण क्रिकेट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?