सवारी दुर्घटना रोक्न टाइम कार्ड लागू गरिँदै

लोकपथ
112
Shares

सुर्खेत । भर्खरै मात्र सडक सञ्जालहरु गाउँ ,गाउँमा जोडिदै गरेको कर्णालीमा दुर्घटना कम गर्नका लागि टाइम कार्ड लागू गर्न लागिएको छ । प्रदेश ट्राफिक कार्यालयले टाइम कार्डको कार्ययोजना तयार गरी लागू गर्ने तयारीमा रहेको जनाएको छ ।

दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागू गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताए । कर्णाली राजमार्ग, भेरी करिडोरमा सवारी दुर्घटना बढ्न थालेपछि जनधनको क्षति रोक्ने यो अभियान सञ्चालन गर्न लागिएको तिवारीले जानकारी दिए ।

साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नति हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरू दुर्घटनामा पर्ने गरेका छन् । टाइम कार्ड लागू गरेपछि अनियन्त्रित रूपमा हुइँकिने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।

यस्तो सिस्टम लागू भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमि आउने अपेक्षा लिइएको छ । जाजरकोटमा २०६७ सालमा टाइम कार्ड लागू गरी बीचमा हटाएको थियो ।

कच्ची कटान गरेका सडकहरुमा जथाभावी यातायाताका साधनहरू चलाउँदा दुर्घटना बढिरहेका छन् । सवारीचालक अनुमतिपत्र समेत नभएका व्यक्तिहरूले सवारी चलाउँदा दुर्घटना बढेको बताएको छ ।

प्रदेश ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरणअनुसार विगत तीन आर्थिक वर्षमा कर्णालीमा सडक दुर्घटनामा परी ३९२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि ०७८/०७९ मा प्रदेशभर ४०२ वटा सवारी साधनहरू दुर्घटनामा परेका छन् । जसमा आव २०७८/०७९ मा १८० जनाले ज्यान गुमाएका छन् भने ३६२ जना गम्भीर घाइते भएका छन् ।

यस्तै आव ०७६/०७७ मा ९७ जनाको ज्यान गएको छ भने आव ०७७/०७८ मा ९८ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएको ट्राफिकसँग तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?