पहिरोले थुनिएको बाग्लुङको बढीगाड खोला अस्थायी ड्याम नाघेर बग्न थाल्यो (तस्वीरहरु)

बाग्लुङ : बढिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामाा सुख्खा पहिरोका कारण थुनिएको बढिगाड खोला पहिरो थुप्रिएको सतहमाथिबाट बग्न थालेको छ । 

पहिरोका कारण बनेको अस्थायी ड्याम नाघेर नदी बगिरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी युदनाथ पाैडेलले जानकारी दिए । 

खोला थुनिँदा सिमलचाैरमा अहिले झण्डै २ किलोमिटर लामो ताल बनेको छ । सो तालमा स्थानीय  चुराबहादुर कुमाल, देविराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घरगोठ डुबेको छ । 

शुक्रबार राती पाैने बाह्रबजे ढोरपाटनको तुरतुरे भ-याङस्थित भीरबाट खसेको सुख्खा पहिरोले बढिगाड खोला गएरातीदेखि थुनिएको हो । डुबानका कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको, तर बढिगाड खोला वरपर, खोलाको आसपासका नागरिक रातभर जाग्राम बसेको जिल्ला प्रहरी कार्यालय, बाग्लुङले जनाएको छ । 

खोला थुनिँदा बनेको ताल जतिसुकै बेला फुट्न सक्ने अवस्था रहेकाले गुल्मी र बाग्लुङस्थित बढिगाडखोलाको किनारमा बस्ने नागरिकलार्इ अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले बुलेटिन जारी गरेको छ । 

पहाड मााथिबाट खसेको पहिरोमा निकै ठूला ढुँगा र ठूलो परिमाणको चट्टानले नदी छेकेको स्थानीयले जानकारी दिएका छन् । बढीगाड थुनिएको भ-याङ भन्ने स्थान बाग्लुङबजारबाट ८५ किलोमिटर उत्तरपश्चिम र तम्घासबाट ४५ किलोमिटर टाढा पर्छ । 

पहिरोले खोला नै थुनिएपछि अहिले बाग्लुङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय अधिकारीहरू उद्धार र राहतका लागि बन्दोबस्तीको सामग्रीको बोकेर घटनास्थलतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?