एनआईसी एसियाले ल्यायो ‘क्यास डिपोजिट’ सेवा, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

लोकपथ
98
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट’ सेवाको सुभारम्भ गरेको छ।

यो सेवामार्फत अब ग्राहकले सहज रुपमा एनआईसी एसिया बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन्। यो सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकले केबल खाता नम्बरका आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ।

यस मेसिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरुमात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एकजना ग्राहकको खातामा एकपटकमा अधिकतम ९९ हजार ५०० रुपैयाँ गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

सहज एवं सरल बैंकिङलाई अँगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् र उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ।

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्टमार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ। बैंकले यो सेवा हालका लागि आफ्नो न्युरोड विशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखामा समेत विस्तार गर्ने योजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ। यसका साथै बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने Cash Recycler मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?