रुपन्देहीबाट एसईईमा पाँच र लमजुङका दुई जनाले ल्याए ४ जिपिए

लोकपथ
126
Shares

भैरहवा । माद्यामिक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा रुपन्देहीबाट पाँच जनाले जिपिए चार ल्याएका छन् । जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट चार जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन् ।

सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान माविका विवेक न्यौपानेले जिपिए ४ ल्याएका छन् । संस्थागततर्फ न्यू होराइजनका स्प्रिया ढकाल र विमर्श ज्ञवालीले जिपिए ४ ल्याएका छन् । त्यस्तै, अक्सफोर्ड माविका विलक्षण भुसाल र दीपेश भुसालले पनि जिपिए ४ ल्याएका छन् ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । रुपन्देहीबाट १७ हजार ६ सय ९२ विद्यार्थी सम्मिलित भएकोमा सबैको नतिजा सार्वजनिक भएको छ । जिल्ला विभिन्न ३ सय ३५ विद्यालयबाट प्राविधिकतर्फबाट ४ सय २२ र ग्रेडवृद्धितर्फ १७२ जना विद्यार्थी सहभागी रहेका थिए ।

प्रकाशित नतिजा अनुसार ९ वटा वर्गमा विद्यार्थीहरूको नतिजालाई प्राप्ताङ्क आधारमा छुट्ट्याइएको छ । जिल्लाका ५ जनाले ४ जिपिए ल्याएका छन् भने ३५० जनाले ए प्लस ग्रेड ल्याएका छन् । त्यस्तै ए ग्रेडका विद्यार्थी १ हजार ४ सय ९६ जना, बी प्लसका ३ हजार ८४, बी ग्रेडका ३ हजार ६ सय १० , सी प्लसका ३ हजार ५ सय ५४, सी ग्रेडका ३ हजार ४ सय ३७, डी प्लस १ हजार ६ सय ७५ र डी ग्रेड ल्याउने ८७ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

लमजुङका निजी विद्यालयका दुई विद्यार्थीले ल्याए ४ जीपीए

त्यस्तै लमजुङका दुई विद्यार्थीले पनि ४ जीपीए ल्याएका छन् । बेंसीसहर नगरपालिका-७ मा रहेको युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका-३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । उनीहरू दुवै निजी विद्यालयका हुन् ।

शिक्षा विकास तथा समन्वय प्रमुख वीरबहादुर गुरुङका अनुसार ४२२ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीएसम्म ल्याएका छन् । ६२५ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८ जीपीएसम्म ल्याएका छन् । ९२८ विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४ जीपीएसम्म ल्याएका छन् ।

६४१ जनाले १ दशमलव ६१ देखि २ जिपिएसम्म, १५१ जनाले १ दशमलव २१ देखि १ दशमलव ६ जीपीएसम्म ल्याएका इकाइ प्रमुख गुरुङले बताए । उनका अनुसार ७ जनाले ० दशमलव ८१ जीपीएदेखि १ दशमलव २ जीपीएसम्म ल्याएका छन् ।

सामान्यधार विद्यालयतर्फ २८ सय ३४ जना र प्राविधिक धारतर्फ १४५ जना गरी लमजुङका २९ सय ९७ जनाले यस वर्षको एसईईमा सहभागी जनाएका थिए । सातजना परीक्षामा अनुपस्थित थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?