काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको कोटामा एक एशियन खेलाडी अनिवार्य हुनु पर्ने बताएको छ ।
'ए' डिभिजनका लिगको दौरान क्लबले अनुबन्ध गर्ने ४ खेलाडीमध्येमा एक एशियाली खेलाडीलाई राख्नै पर्ने नियम लागु गरेको छ ।
यसअघि क्लबहरुले विभिन्न देशका ४ विदेशी खेलाडीलाई दर्ता गर्न पाउने र तीन जनालाई मैदानमा उतार्न पाउने नियम थियो । तर, सबै क्लबहरुले प्राय अफ्रिकन मुलुकका खेलाडीलाई मात्र विदेशी सो कोटामा समावेश गर्दै आइरहेको थियो ।
तर अब सो नियममा ‘एन्फा’ले अंकुस लगाउँदै नयाँ नियम लागु गरेको छ । नयाँ नियम अनुसार अब ‘ए’ डिभिजन क्लबहरुले एक एशियन सहित ४ विदेशी खेलाडी दर्ता गर्न पाउनेछन् । र कुनैपनि तीन खेलाडीलाई मैदानमा खेलाउन पाउनेछन् ।
यसैबीच ‘एन्फा’ले दक्षिण एशियाली राष्ट्रमा हुने घरेलु लिगमा एक एशियन खेलाडी राख्नैपर्ने प्रस्ताव पनि पेश गरेको छ । ‘साफ’का सदस्य राष्ट्रले आयोजना गर्ने घरेलु लिगमा एक एशियन खेलाडी अनिवार्य गर्दा दक्षिण एशियाली फुटबलमा फाईदा पुग्ने भन्दै ‘एन्फा’ अध्यक्ष कर्मा छिरिङ शेर्पाले सो प्रस्ताव साफको पछिल्लो बैठकमा पेश गरेका हुन् ।
‘साफ’का सदस्य सबै राष्ट्र सहमत भएपनि भारतले सो प्रस्ताव स्विकार नगरेको ‘एन्फा’ जानकारी दिएको छ । प्रस्तावलाई साफको बैठकले पारित गरे नेपाल लगायत धेरै दक्षिण एशियाली राष्ट्रका खेलाडी विदेशी भुमिका गएर लिग खेल्ने सम्भावना बढ्ने ‘एन्फा’को दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया