काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा कान्छो वाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरी कर्मसियल बैंक प्रभु बैंकमा गाभिने भएको छ । प्रभु बैंकमा गाभिने विषयमा दुबै बैंकले आइतबार प्राप्ती सम्बन्धि सम्झौता गरेका छन् ।
सेञ्चुरीलाई प्राप्ती गर्ने तयारीमा रहेको प्रभुले यसअघि तत्कालीन ग्राण्ड बैंक नेपाल लिमिटेड, किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स समेतलाई गाभेर नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्बन्धि नीतिलाई सफल बनाउन प्रभुको ठुलो योगदान रहेको छ ।
सेञ्चुरीलाई गाभेपछि बन्ने प्रभुको चुक्ता पुँजी २२ अर्ब २६ करोड २६ लाख १३ हजार रुपैयाँ पुग्ने भने भने कुल निक्षेप दुई खर्ब ६९ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुग्ने छ । यसैगरी कुल कर्जा रकम दुई खर्ब ३२ अर्ब ९८ करोड रुपैयाँभन्दा माथि पुग्नेछ ।
हाल प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैंयाँ रहेको छ भने सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा रहेको छ । यसैगरी हाल प्रभुको निक्षेप एक खर्ब ७८ अर्बको हाराहारीमा रहेको छ भने सेञ्चुरीको निक्षेप ९० अर्ब ५२ करोड रुपैयाँको हाराहारीमा रहेको छ ।
कर्जा रकम भने प्रभुको हाल एक खर्ब ४५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ भने सेञ्चुरीको ८७ अर्ब २२ करोड रुपैयाँको हाराहारीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया