कञ्चनपुर प्रकरणका ‘खलपात्र’ एसपी विष्टको बयान – त्यस्तो पाप कामको हामी कल्पनासमेत गर्न सक्दैनौं

काठमाडौँ – बलात्कार र त्यसपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै यतिबेला सडकदेखि सदनसम्म तातेको छ । 

घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानूनी कठघरामा ल्याउनुपर्ने सम्बन्धित जिम्मेवार प्रहरीलाई नै यतिबेला ‘खलनायक’ को रुपमा चित्रित गरिएको छ । 

अनुसन्धानलाई प्रभावित पार्न भूमिका खेलेको आरोप छ, कञ्चनपु्रका तत्कालिन एसपी डिल्लीराज विष्टमाथि । हाल निलम्बनमा परेका विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको पनि डीएनए परीक्षण भइरहेको छ । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसमा उनीहरुको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको हो । 

अभियुक्त भनिएका दिलिपसिंह विष्ट साधारण तारेखमा रिहा भएसँगै शंका विष्टत्रयतिरै  सोझ्याइएको बेला आरोपित डिल्लीराज लोकपथको सम्पर्कमा आएका छन् । लोकपथसँगको कुराकानीमा विष्टले आफूलाई बलीको बोका जस्तै बनाइने काम गरेको भन्दै गुनासो गरे ।

निर्मला पन्त हत्याको सत्यतथ्य तथा यथार्थ छानबिन हुनुपर्छ भन्ने पक्षमा आफू सधै अडिग रहेको दाबी गर्दै उनले निर्मलाको न्यायका लागि जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको काम गर्ने शैलीप्रति केही आपराधिक मानसिकताका व्यक्तिहरु आफूले नेतृत्व सम्हाल्ने बित्तिकै रुष्ट र विरोधी हुँदै गएको दाबी गर्दै विष्टले भने, ‘उनीहरुको खुशीका लागि काम नगर्दा यस्तो नियति भोग्नुपरेको हो ।’

राति खोज्न जान नसकेको सत्य हो

निर्मला हराएको घटना साउन १० गते राति १२.३५ बजेमात्र प्रहरीकहाँ सूचना आएको विष्टको भनाइ छ । 

‘साथी रोशनीको घरबाट दिउँसो अन्दाजी दुई बजे हिँडेकी निर्मला सामान्य त धेरैको आशंका कहीँकतै गएको होला भन्ने नै भएछ’ उनले भने, ‘रात परिसकेकाले प्रहरीले पनि मध्यरातमा कहाँ खोज्न जाने होला, शंकास्पद व्यक्तिको फोन तथा नाम नम्बर छ भने दिनुहोस् सम्म त भनेकै थियौँ तर, राति खोज्न जान नसकेको सत्य हो ।’

उनले कमजोरी स्वीकारे ।

‘भोलिपल्ट बिहान स्थानीयसँगै वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टबाट पोशाक र सादा पोशाकमा प्रहरी निर्मलाको खोजीमा परिचालन गरिएको थियो, बिहान एक्कासी साइकल भेटिएको खबर आयो’, उनले त्यो दिनको बेलिबिस्तार सुनाए, ‘साइकल पनि खोलामा फालिएको अवस्थामा एक चौधरी केटाले फेला पारेर चेन बनाउँदै गरेको अवस्थामा फेला परेको थियो, साइकल फेला पारेपछि उखुबारीतिर निर्मलालाई खोज्न जाँदा केही पर शव भेटिएको थियो ।’

शवको घटनास्थल मुचुल्कामा लापरवाही भएको थाहा छैन

विष्टले घटनास्थलमा शवको मुचुल्का तयार पार्दा प्रहरीबाट भएको कमी–कमजोरीप्रति अनभिज्ञता जनाए । 

‘डीएसपी कै कमाण्डमा टोली खटिइएकाले शंका गर्ने ठाँउ थिएन, शवको यौनाङ्ग धोई, पखाली गर्नुका साथै सुरुवाल धोएको कुरामा सत्यता छैन ।’ उनको दाबी छ ।

‘त्यहाँ धेरै महिला जम्मा भएकाले नजिकै फेला परेको रुमालले यौनाङ्ग छोपेको जानकारी पाएको थिएँ’, उनले थपे, ‘यदि शवको मुचुल्का तयार पार्दा प्रहरीबाट गल्ती भएको छ भने पनि त्यसको पनि छानबिन हुनुपर्छ ।’ 

साथै उनले छोरा र मेयरका भतिजाको बदनाम गर्ने काम भइरहेको भन्दै गुनासो पनि गर्न भ्याए, उनले भने, ‘मेरो छोरा महेन्द्रनगरभन्दा काठमाडौंमा नै धेरै बस्ने गर्छ, निर्मलाको हत्या हुँदा छोरो महेन्द्रनगर नै पुगिसकेको अवस्था थिएन, छोराको र मेयरका भतिजाको घनिष्ट सम्बन्ध समेत छैन, तर भीमदत्त नगरपालिकाका मेयर र मेरोबीचको सम्बन्धलाई लिएर हाम्रा आफन्तसमेतको चरित्र हत्या गर्ने काम भयो ।’ 

‘मेरो छोरो धनगढीसम्म गएको छ, महेन्द्रनगर धेरै कम जाने भएकाले उसले न त बम दिदीबहिनी चिन्छ न त निर्मला नै, निर्मला हत्यामा निहत्था छोराको नाम जोडिनुको पछाडि मेरो सिंगो घर परिवारलाई बदनामी गराउनु हो ।’ विष्टले थपे । 

शंकाको भरमा हुँदैन

प्रचलित कानूनले शंकाको भरमा कुनै व्यक्तिलाई पक्राउ गर्ने अधिकार नदिएको भन्दै उनले भीडले शंका गरेकै भरमा शुरुमा बम दिदीबहिनीलाई २४ घण्टा भन्दा बढी हिरासतमा राख्न नसकिएको बताए ।  विष्टले भने, ‘उनीहरुको घरमा निर्मला गएको ठीक साँचो थियो, तर दिउँसो ११ बजे अम्बा र किताब लिएर साइकलमै फर्किएकी थिइन्, बमको घरबाट निर्मलाको घर जाने क्रममा यस्तो घटना भएको देखिन्छ, जुन ठाउँ एकान्त पनि छ, जहाँ लागूऔषध प्रयोगकर्ताहरुको बाक्लो उपस्थिति हुन्छ ।’ 

घरमा रंग रोगन गरेको छैन, अम्बाको रुख काटिएको छ

उनले बम दिदीबहिनी बस्ने घरमा रंग रोगन नगरिएइको स्पष्ट पारे । अम्बाको रुख भने काटिएको छ । घरको वाललाई नै भत्काउने गरि फैलिएको अम्बाको रुखका कारण सर्वसाधारणलाई आतजावत गर्न समस्या भएपछि उनीहरुले निर्मलाको हत्या भएको १० दिनपछि अम्बाको रुख काटेको विष्टको दाबी छ । 

‘घरमा रंग रोगन गरेको छैन’,  उनले भने, ‘अम्बाको रुख भने काटिएको छ यस विषयमा सीआइवीका डीएसपी अंगुर जिसीलाई पनि सोधे प्रष्ट हुन्छ, रोशनीकी दिदी बबिताले निर्मलाकी आमालाई के कस्तो कुरा भनिन् त्यसबारे अनुसन्धान भइरहेको थियो ।’

जिल्ला अदालतले पनि उनीहरुको कुनै संलग्नता नदेखिएको भन्दै रिहाइको आदेश दिइसकेको छ ।  बम दिदीबहिनीसँग आफ्नो छोराको चिनजान र सम्पर्क समेत नभएको उनले दाबी गरे । 

दिलिप विष्ट पक्राउ

निर्मला हत्याको अनुसन्धानका क्रममा पाँचसय जनालाई सोधपुछ गर्नका साथै एकसय जनालाई तारेखमा राखिएको उनले बताए । तारेखमा राखिएका मध्ये केही व्यक्तिले दिलिपसिंह विष्ट देखा परेको सूचना दिएपछि पक्राउ गर्दा उनले निर्मला हत्या सकारेको विष्टको दाबी छ ।

साइकलको चेन बनाइदिनु भनेपछि शुरुमा चेन बनाइदिएको र त्यसपछि पनि निर्मलाले ह्याण्डिल समातेर डो¥याइदिन भनेपछि साइकल खोलामा फालिदिएको बयान दिलिपले दिएको विष्टले दाबी गरे ।  खोलामा फालेको साइकल उठाउन दिलिप आफै गएको बयान पनि उनले दिएको विष्टले बताए ।

उनले साइकल खसेको खोलामा आउन निर्मलालाई बोलाएपछि हत्यापछि बलात्कार गरेको सकारेको विष्टले बताए । दिलिपलाई मानसिक रोगी भएको प्रमाणसमेत फेला नपरेको उनको दाबी थियो । उनले यस्तो बताएपनि विष्ट डिएनए टेस्टपछि रिहा भइसकेका छन् ।

अपराधको अनुसन्धान तथ्यगत प्रमाणको आधारमा हुनुपर्छ 

विष्टले निर्मलामा हत्यामा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । ‘मेरो पनि डीएनए परीक्षण भएको छ, हप्ता दिनभित्र केही रिपोर्ट आउला’, उनले भने, ‘त्यस्तो पाप कामको हामी कल्पना समेत गर्न सक्दैनौँ ।’

उनले निर्मला हत्याको अनुसन्धानमा प्रहरीको कुनै लापरबाही नै नभएको दाबी गरे । ‘सबै ठाँउमा म आफैं जाने कुरा भएन, विज्ञ टोलीप्रति विश्वास गर्ने हो ।’, उनले भने ।

उनले भीमदत्त नगरपालिकाले कर बढाएपछि र हाइवेमा अटो रिक्सा सञ्चालनमा बन्द गर्ने घोषणा भएसँगै चर्किएको आन्दोलन निर्मला हत्यापछि आगोमा घिउ थपेजस्तै भएको समेत बताए ।

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म पनि प्रहरीले हत्याराको खोजी गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?