निर्मलाका आमाबुवामाथि प्रधानमन्त्री निवासमै नेकपा नेता कर्णले गरे अपमान ! भएको के थियो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन बालुवाटार पुगेका निर्मला पन्तका आमाबुवालाई नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का नेताले अपमानित गरेका छन् । 

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मला पन्तका आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तलाई बाजुराका पूर्व सांसद एवं नेकपाका नेता कर्ण थापाले प्रधानमन्त्रीकै अगाडी अपमानजनक व्यवहार गरेका थिए । 

‘तपाईंहरु बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हामीलाई अपमान गर्नुभयो,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन् । साथै ‘हामीलाई प्रधानमन्त्री निवासमा ज्ञापनपत्र पढेर बुझाउन समेत दिइएन । म सँग गएका अधिकारकर्मी महिलाहरुलाई बाहिर निकालियो । उहाँहरुलाई रोक्न महिला प्रहरी बोलाइएको थियो । मलाई पनि धक्का दिन आएका थिए तर मैले ‘म निर्मलाकी आमा हुँ’ भनेपछि सुरक्षाकर्मीहरु हात हाल्न हच्किए ।’ उनले भनिन् । 

‘पूर्व सांसद एवं नेकपाका नेता थापाले म माथि अपमानजनक ब्यवहार गर्दै चरित्रहत्या गर्ने शब्दहरु बोले । तिमीहरु घुम्न आएका हौ । हामीलाई थाहा छ कसबाट परिचालित छौँ । तिमिहरुभन्दा बढी जिम्मेवार हामी छौं । हामी चुप लाग्दैनौं, देखाउँला ।’ भन्दै मुख छाडीरहँदा प्रधानमन्त्री ओली र नेकपाका नेता भीम रावल भने मौन बसेर थापालाई प्रोत्साहित गरेको त्यहाँ उपस्थित एक अधिकारकर्मीले बताइन् । 

तर, ने.क.पाका नेता थापाले भने निर्मलाका आमाबुवा माथि कुनै प्रकारको अपमान र गाली नगरेको बताए । 

प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले छोरी निर्मलाको बलात्कारी र हत्यारालाई कारबाही गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?