नेपाली चलचित्र: न फिल्म राम्रा, न दर्शक हाम्रा

काठमाडौं । नेपाली चलचित्र उद्योगले पचास वर्ष लामो इतिहास कोरिसकेको छ । सिनेमाको इतिहास लामै भए पनि यो क्षेत्रले भने खासै फड्को मार्न सकेको छैन । दशकपछि फर्केर हेर्ने हो भने उही भुमरीमा घुमिरहेको छ सिनेक्षेत्र । यो ५ दशकको अवधिमा फिल्म क्षेत्रले आफूलाई सामाजिक, सांस्कृतिक र व्यापारिक हिसाबले सशक्त बनाउन सक्नुपर्ने थियो । तर, प्राविधिक रुपमा चलचित्र क्षेत्र केही ‘अपग्रेड’ भए पनि अन्य हिसाबले भने चलचित्रको बजार जहाँको त्यहीँ छ ।

ठ्याक्कै उही पुरानो शैली छैन, तर फिल्मका कथा उस्तै छन् । नेपाली चलचित्रबाट मौलिकता हराउँदै गएको गुनासो आउन थालेका छन् । विदेशी संस्कृति (खासगरी भारत) को हावाले नेपाली संस्कृतिलाई सुकाउँदै लगेको छ । यसको असर सिनेमामा मात्रै हैन, पूरै समाजमा परेको छ । यसैको एउटा कारण हुनुपर्छ, नेपाली सिनेमा अहिले पनि विदेशी फिल्मको ‘नक्कल’ बाहेक अरु केही बन्न सकेका छैनन् ।

दक्षिण भारतीय सिनेमाले अहिले मुख्य धार भनिएका बलिउडका फिल्मलाई टक्कर दिन थालेका छन् । नेपाली फिल्मकर्मीले भने बलिउडका मात्र हैन, दक्षिण भारतीय फिल्मको कथा तोडमोड गरेर चलचित्र बनाउन थालेका छन् ।

हुन त यो नयाँ प्रयोग होइन । भन्न खोजिएको के हो भने, चोरीका लागि माहिर नेपाली फिल्म मेकरले फिल्म क्षेत्रको स्तरोन्नति पनि चाहन्छन् । अर्कातिर विदेशी कथालाई कच्याककुचुक पारेर नेपाली चलचित्र बनाइरहेका हुन्छन् र घरेलु दर्शकसँग फिल्म हेरिदिन अपील पनि गर्छन् ।

पुराना निर्देशक चेतन कार्कीका बुझाइमा नेपाली फिल्म यति धेरै कमजोर बन्नुको कारण हामीले प्रस्तुत गर्ने कथा हुन् । ‘अहिलेका चलचित्र प्राविधिक रुपमा त केही एडभान्स भएकै हुन् तर कथावस्तुका हिसाबले निकै कमजोर छन्, फिल्मको कथाले आफ्नोपन उठाएको हुँदैन’, कार्कीले भने, ‘अहिले स्किृप्ट तयार गर्ने चलन छैन, फिल्मको मेरुदण्ड कथा नै कमजोर भयो भने जस्तोसुकै निर्देशकले पनि राम्रो फिल्म बनाउन सक्दैन ।’

कार्कीका अनुसार फिल्मको संगीतमा पनि अहिलेका पुस्ताले संगीतको मान्यतालाई अवमूल्यन गरिरहेका छन् । अर्कातिर पुराना चर्चित गीतलाई पुनः गाइने प्रवृत्ति पनि छ । ‘अहिलेका फिल्ममा संगीत पनि कताकता सान्दर्भिक लाग्दैन, अर्कातिर आफैले गीत बनाउन नसकेर चोर्नेहरु पनि छन् ।’, उनले थपे ।

हामीले बजार बढाउन सकेनौँ, पहाडी क्षेत्रमा हल पुग्न सकेका छैनन्, तराईमा पनि नेपाली फिल्म खासै चल्दैनन्, केही मुख्य शहरका दर्शकले मात्र नेपाली फिल्म हेर्ने गर्छन् ।

कलाकार नवल खड्काका विचारमा चलचित्र एउटा यस्तो माध्यम हो, जहाँ संगीतदेखि कथासम्म अटेको हुन्छ । तर फिल्मको बजार सधै उस्तै रहनुको कारण राज्यको कमजोरी नै हो ।

पछिल्लो समय फिल्म क्षेत्रमा भन्दा पनि व्यवसायमा सक्रिय नवल खड्काले पहिलेको भन्दा बढी प्रविधि प्रयोग गर्न पाइए पनि आफ्नोपनभन्दा नक्कल गर्ने परिपाटी बढेको बताउँछन् । ‘पहिले माटोको सुगन्ध हुने खालका फिल्म निर्माण हुन्थे, अहिले चाहिँ आफ्नोपन हराउँदै गएको आभास हुन्छ, बजार पनि बढ्नुपर्ने ठाउँमा घटिरहेको छ’, खड्काले अगाडि थपे, ‘हामीले बजार बढाउन सकेनौँ, पहाडी क्षेत्रमा हल पुग्न सकेका छैनन्, तराईमा पनि नेपाली फिल्म खासै चल्दैनन्, केही मुख्य शहरका दर्शकले मात्र नेपाली फिल्म हेर्ने गर्छन् ।’

उनका अनुसार चलचित्र क्षेत्रलाई राज्यले नै उपेक्षित तरिकाले हेरेको छ । कला, साहित्य र संस्कृति राज्यको मेरुदण्ड हो तर राज्यले उपेक्षा गरेको खड्काले बताए ।

‘गीतसंगीतदेखि विज्ञानसम्मका विषय फिल्ममा समावेश हुन्छ, तर यो क्षेत्र पछाडि छ, हामी अझै पनि आफैमा रुमल्लिएका छौँ, एकतामा बल हुन्छ तर हामी हातेमालो गरेर हिँडेका छैनौँ ।’, उनले भने ।

नेपाली सिनेमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुन सकेनन्। -नवीन सुब्बा, फिल्मकर्मी

सिनेमा उद्योगले पचासको दशक पार गर्नु सामान्य कुरा होइन । यो समयमा फिल्म क्षेत्रमा केही न केही परिवर्तन हुनैपर्ने थियो । यसो त नेपालका केही मुख्य शहरमा मल्टिप्लेक्स हल निर्माण भइरहेका छन् । केही औसत फिल्मले बजारमा राम्रो कमाइ गरेका छन् । केही चलचित्र विदेशमा हुने फिल्म फेस्टिभलमा पनि सरिक हुने मौका पाएका छन् । नेपाललाई नै फोकस गरेर फिल्म कलेज पनि खुलिसकेका छन् । तर, नेपाली बजार यति खुम्चेको छ कि, नेपाली कलाकारलाई नेपाली दर्शकले पनि चिन्दैनन् । बिडम्बना के छ भने सानो समूह सर्कलमा कलाकार रमाइरहेका छन् ।

निर्देशक तथा समीक्षक नवीन सुब्बालाई लाग्छ – नेपाली सिनेमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुन सकेनन् ।

‘चलचित्र क्षेत्रलाई राज्यले कसरी हेर्ने भन्ने नीति हुनुपर्ने हो तर त्यो पाइँदैन, पञ्चायत कालमा राज्यले संस्कृति र सिनेमाको उपयोग गरेको हो, तर प्रजातन्त्र आइसकेपछि त्यसको खासै प्रयोग भएको देखिएन ।’, सुब्बाले भने, ‘चलचित्र क्षेत्रमा जनशक्तिको अभाव पनि हो, समयको हिसाबले जति जनशक्ति उत्पादन हुनुपर्ने हो, त्यति जनशक्ति चलचित्र क्षेत्रमा छैनन् ।’

उनका अनुसार नेपालको संस्कृति भारतीय संस्कृतिको चपेटामा छ । उनको बुझाइमा भारतीय संस्कृतिबाट अत्यन्तै चपेटिएको मुलुकुमा पर्छ नेपाल । ‘कोरियाको चलचित्रमा पनि जापानी संस्कृतिको प्रभाव परेको थियो, तर पछि राज्यको नीतिले कोरियन चलचित्रमा आफ्नै संस्कृति भित्रिँदै गयो, नेपालमा त्यो देखिँदैन ।’, सुब्बाले थपे ।

नेपालमा भने बरु विदेशी संस्कृतिको सिको गर्ने चलन छ तर आफ्नो संस्कृति सिकाउने भन्ने छैन । ‘कोरियाको नीतिले चलचित्र, संगीत र अन्य माध्यमबाट आफ्नो संस्कृति विदेशमा निकासी गर्ने अवस्था आयो तर यहाँ भने राज्यलाई कुनै सरोकार छैन ।’, उनले उदाहरण दिए, ‘सन् २००० सम्म हङकङ पनि धेरै फिल्म बन्नेमा दोस्रोमा थियो, तर पछि चीनले हङकङको बजार खाइदियो, जनसङ्ख्याको हिसाबले हङकङको बजार नेपालको तुलनामा निकै सानो हो ।’

नेपालमा चलचित्रको बजार छ । तर, घरेलु दर्शकले नै हामीलाई पत्याएका छैनन् ।

नवीन सुब्बाका अनुसार विदेशमा हुने ठूला समारोहमा नेपाली कलाकार पठाउनलाई पनि राज्यले खासै चासो दिएको हुँदैन । विदेशीले कल्चरल हेरिटेज या सांस्कृतिक माध्यम बनाएर चलचित्रलाई अगाडि सारे तर नेपालमा भने यसो गरौँ भन्दा राज्यको सहयोग पाइँदैन ।

‘हाम्रोभन्दा सानो मुलुकका चलचित्र उद्योग चर्चामा छन्, तर यहाँ त्यस्तो हुन सकेको छैन, शायद हाम्रो पनि प्रयास पुगेन होला, हाम्रो सिनेमा बजारकेन्द्रित मात्र भयो’, उनले औँल्याए, ‘हाम्रोमा कलाकार कलाकारिता गरिरहेका छौँ भन्छन् तर बजारमा टिकिरहेका छैनन् ।’

चलचित्र विकास बोर्डले केही वर्ष पहिले असोज १ लाई एक÷दुईपटक राष्ट्रिय चलचित्र दिवस मनाएको थियो । तर, अहिले त्यो पनि सुक्खा बनेको छ । चलचित्र क्षेत्रलाई हेर्ने सिंगो बोर्ड चलचित्र विकास बोर्ड त छ तर बोर्डले पनि खासै उपलब्धि केही गर्न सकेको छैन । यद्यपि लामो समयपछि प्रयोगमा आएको बक्स अपिसलाई भने एउटा सफलताका रुपमा हेरिएको छ ।

चलचित्र विकास बोर्डका एक अधिकारीले भने, ‘गणेश भण्डारी अध्यक्ष हुँदा एकपटक बोर्डले राष्ट्रिय चलचित्र दिवस त मनाएको हो, अहिले त यसबारेमा खासै केही अपडेट छैन, सूचना विभागअन्तर्गत मन्त्रीपरिषदले स्वीकृत दिनुपर्छ, त्यो स्वीकृति भइसकेको छैन ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?