रौतहट एसिडकाण्ड : छिमेकी ठूलोबुवा पर्नेलाई पक्रियो प्रहरीले, अनुसन्धान हुँदै

सुतिरहेकै ठाउँमा एसिड आक्रमणको शिकारमा परेका रौतहट चन्द्रनिगाहपुरका दुई दिदी बहिनीलाई एसिड खन्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

छिमेकी ठूलोबुबा पर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथी अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्तिले एसिड पीडित यूवतीको मोबाइलमा गरेको 'कल हिस्ट्रीको 'आधारमा  उनकै घरबाट पक्राउ गरेको हो ।

घटनाबारे सत्यतथ्य बुझ्न र सूचना लिनको लागि कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेको लोकपथको टीमसँग पीडितका बुबा जदोलाल दासले ले भने, ''उनै व्यक्ति छोरीहरुलाई अस्पतालसम्म पुर्याएर एक रात कुरुवा बसेर फर्केका हुन् । घटनाभएपछिको उनको पछिल्लो व्यवहारले निजमाथि हामीलाई शंका थियो ।'' उनले थपे, ''प्रहरीले उनको परिवारलाई बताएअनुसार छोरीको नम्बरमा उनले गरेको २ सय कल डिटेल प्रहरीले फेला पारेको छ ।''

यसबारे अनुसन्धान भईरहेको परिवारलाई जानकारी गराएको छ । रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका ठोक टोलमा आफ्नै निवासमा  रातको १२ बजे सुतिरहेको अवस्थामा १८ वर्षीया सम्झना दास र उनकी बहिनी सुस्मिता दासमाथि एसिड प्रहार भएको थियो ।

दिदी सम्झना दास कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको अति संवेदनशील मानिने आइसियू कक्षको ५ नम्बर बेडमा छट्पटाईरहेकी छिन् । चिकित्सकका अनुसार उनको अनुहार सहित शरीरको अगाडिको पुरै भाग जलेको छ । शरीरको ३५ प्रतिशत भन्दा बढी भाग गहिरोसँग जलेको कारण अत्यन्तै क्रिटिकल अवस्था भएकोले यसै भन्न नसकिने चिकित्सकको भनाई छ । दिदीसँगै सुतेकी बहिनी सुस्मिता को हात एसिडले जलेको छ ।

तिजको दर खाने दिन राति चर्को हल्लाखल्ला भएपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए । तुरुन्तै उनीहरुलाई चन्द्रपुर अस्पताल पुर्याईएको थियो । तर अस्पतालले त्यहाँ उपचार गर्न नसक्ने बताएपछि भोलीपल्ट बिहानको साढे तीन बजे एम्बुलेन्समा राखेर उनीहरुलाई काठमाडौं ल्याइएको थियो । बिहान ९ बजे कीर्तिपुर अस्पतालमा ल्याउँदा समेत सम्झना बेहोस नै थिइन्। उनको शरीर सबै जलेको थियो भने शरिरको कपडा पनि प्वाल परेको थियो ।

सुस्मिता १५ वर्षकी हुन्। सम्झना १८ वर्षकी। उनीहरु कान्छी आमासँग घरमै बस्थे। पुल हाउस सञ्चालन गरेकाले जादोलाल दास बजारमै सुत्ने गर्दथे । उनले जेठी श्रीमतीसँग २ वर्षअघि सम्बन्ध बिच्छेद गरेका थिए। 
सम्झना र सुस्मिताको आमा एक महिनाअघि मात्रै वैदेशिक रोजगारको लागि मलेसिया गएकी थिईन् ।  छोरीहरुमाथि एसिड प्रहार भएको खबर पाएलगत्तै नेपाल आउन चाहेकी उनले टिकट पाएकी छैनन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?