लमजुङका बाढीपीडितलार्इ जनप्रतिनिधीले सहयोग गर्दै

बेँशीशहर : मर्स्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् । 

मर्स्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । बाढीपहिरोबाट मर्स्याङ्दी गाउँपालिकाका १९ परिवार विस्थापित भएका छन् । 

यहाँको ५० घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो । एक जना अझै बेपत्ता छन् भने ११ जना घाइते भएका थिए ।

गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकले पीडितलाई एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन् । हाल उक्त गाउँपालिकामा सामुदायिक र संस्थागतमा गरी झण्डै ४०० शिक्षक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?