काठमाडौं । अबदेखि लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९-०८० को मौद्रिक नीतिमा उल्लेख भए अनुसारको उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएपछि लघुवित्त संस्थाहरुले यस्तो सुविधा पाएका हुन ।
परिपत्र अनुसार सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न शर्तहरुको अधीनमा रही आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्न सक्नेछन् ।
यसैगरी ईजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा तोकिएका सुविधाहरुका अतिरिक्त देहाय बमोजिमका थप सहुलियत प्रदान गर्ने परिपत्रमा उल्लेख छ ।
एकीकृत कारोबार गरेको मितिले एक वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको एक प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गरिने परिपत्रमा उल्लेख छ ।
यसअघि ईजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोवार सञ्चालन गरेमामाथि मात्र यस्तो छुट दिने व्यवस्था रहेको थियो ।
सो अनुसार २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्त सम्मको लागि छुट प्रदान गर्ने व्यवस्था रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया