भारतीय गायन क्षेत्रका सम्राट किशोर कुमार एक यस्तो व्यक्तित्व थिए, जसको योगदानलाई भुल्न सकिँदैन । उनी यस संसारमा नरहेपनि उनको स्वर र गीतहरु फ्यानहरुको मनमा भने जीवित छ । उनले आफ्ना जीवनकालमा धेरै अमर गीतहरु दिएर १३ अक्टोबर १९८७ मा यस संसारबाट बिदा भएका थिए ।
आज उनै किशोर कुमारको जन्मजयन्ती हो । ४ अगस्ट १९२९ मा भारतको मध्य प्रदेशको खाण्डवामा जन्मिएका कुमारले पढाइ खाण्डवामै पुरा गरे । उनले उच्च शिक्षा भने इन्दौरबाट पुरा गरेका थिए ।
उनी सधै कलेजको कम्पाउन्डमा भएको इमलीको रुखमुनि बसेर रियाज गर्थे । क्यान्टिनसँग जोडिएको उनको किस्सा हिजाेआज पनि चर्चा हुने गर्छ । उनले क्यान्टिनमै ‘५ रुपैयाँ १२ आना’ गीत बनाएका थिए ।
पोहा जलेबी खान खुब मन पराउने कुमारले क्यान्टिनका काकाबाट ऋण लिएका थिए, जब क्यान्टिनका काकाले किशोरसँग पैसा मागे, उनले जवाफमा गीत गाँउदै दिने गर्थे । पछि उनले यो गीत पनि फिल्ममा पनि गाए जुन निकै चर्चित छ ।
होस्टेलमै बनेको थियो चर्चित ‘मेरे सामने वाली खिड्की’
कुमार कलेजको होस्टेलमा बस्थे । उनी होस्टेलमा सधैं गीत लेख्ने र गुनगुनाउने गर्थे । उनले होस्टेलमै ‘मेरे सामने वाली खिड्कीमे एक चाँद का टुक्डा’ गीत बनाएका थिए । उक्त गीत यति धेरै हिट भयो कि हिजाेआज पनि जनजिब्राेमा छ ।
बहुप्रतिभाका धनी कुमारले महिलाको स्वरमा पनि गाउँथे । गायकी मात्र नभइ अभिनयमा पनि उनको रुची थियो । कुमारले सन् १९६२ मा प्रदर्शनमा आएको फिल्म ‘हाफ टिकट’ को गीत ‘आके सिद्धी लगी दिल पे जैसी’ पुरुष र महिला दुवै स्वरमा गाएका थिए । उनले एकै पटकमा उक्त गीत रेकर्ड गरेका थिए । उक्त गीत सुपरहिट भएको थियो ।
घमण्डी स्वभावका किशोर
उनी एकदमै घमण्डी स्वभावका थिए । उनलाई मन लागेपछि एकैपटक धेरै गीत रेकर्ड गर्थे तर, मन नभएको बेलामा जति पैसा दिए पनि उनले गीत गाउँदैनथे । त्यसाे त धेरैले उनलाई मूडी स्वभावकाे गायककाे संज्ञा दिएका छन् ।
घरबाहिर लगाइएको थियो बोर्ड
किशोरले आफ्नो घरबाहिर एउटा साइन बोर्ड राखेका थिए, जसमा ‘किशोरबाट सावधान’ लेखिएको थियो ।
उनले आफ्नो करियरमा १५०० भन्दा बढी गीतमा स्वर दिएका थिए । उनले गाएका गीतहरु मध्येका केही चर्चित गीतहरु :
मेरो सपनाकी रानी
प्रसिद्ध अभिनेता राजेश खन्ना र शर्मिला ट्यागोर अभिनीत फिल्म आराधना तत्कालीन समयको उत्कृष्ट फिल्महरू मध्ये एक थियो । यस फिल्मका धेरै गीतहरू चर्चित भए पनि किशोर कुमारको स्वर रहेको मेरे सपनाकी रानी गीत अहिले पनि निकै लोकप्रिय छ ।
अच्छा तो हम चलते हैं
किशोर कुमारले आफ्नो फिल्मी करियरमा राजेश खन्नाका लागि धेरै गीत गाए। राजेश खन्नाको फिल्म ‘आन मिलो सजना’ मा उनको अभिनेत्री आशा पारेखसँगको जोडीलाई मानिसहरुले निकै रुचाएका थिए । यस फिल्मको ‘अच्छा तो हम चलते हैं’ गीत आज पनि निकै चर्चित छ । जुन किशोर कुमारले गाएका थिए ।
आ गए हो नूर आ गया है
सन् १९७५ मा आएको फिल्म आन्धी रिलिजको समयमा निकै विवादमा परे पनि फिमको गीतले भने निकै चर्चा पाएको थियो । सञ्जीव कुमार र सुचित्रा सेनको चर्चित गीत तुम आ गए हो नूर आ गया हे पनि किशोर कुमारले गाएका थिए।
मेरे महबूब कयामत होगी
किशोर कुमारले फिल्म मिस्टर एक्स इन मुम्बईको गीतमा आफ्नो स्वर मात्र दिएनन्, फिल्ममा अभिनय पनि गरेका थिए । फिल्म ‘मेरे मेहबूब कयामत होगी’ को चर्चित गीत अहिले पनि निकै चर्चित छ । यो गीतलाई जनताले यति रुचाएका छन् कि यस गीतको धेरै रिमेकहरु पनि बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया