एशिया कप क्रिकेट : अफगानिस्तान सेमिफाइनलमा प्रवेश, श्रीलंका समूह चरणबाटै बाहिरियो

युएई । अफगानिस्तान जारी एशिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आफ्नो समुहको पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले पराजित गरेको हो । अफगानिस्तानले एक खेल अगावै एशिया कपको अन्तिमा चारको स्थान तय गरेको हो ।प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि हमत शाहको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ४९ रनको योगफल तयार पारेको थियो । मोहमद शाहजाद र इशानुल्लाहले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । 

शाहजादले ४७ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाए । इशानुल्लाहले ६५ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाएर पेभेलियनमा फर्किए । 

अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ दशमलब दुई ओभरमा मात्र १ सय ५८ रनमा समेटिएको थियो । 

श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, थिसारा परेराले २८, धनन्जय डि सिल्भाले २३ तथा कप्तान एन्जेलो म्याथ्युजले २२ रन जोडेका थिए । 

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान, गुलबदिन नैब, मोहमद नाबीले र रशिद खानले समान २-२ विकेट लिएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?