इन्द्रजात्राको रौनकसँगै किलागलमा देवी नाच [फोटो फिचर]

काठमाडौं । काठमाडौंलाई इन्द्रजात्राको रौनकले छोइसकेको छ । खास गरी उपत्यकामा उत्सवका साथ मनाइने यो पर्वमा नेवारी समुदायमा विभिन्न नृत्य प्रस्तुत गरिने गरिन्छ । इन्द्रचोकभन्दा केही भित्र पर्ने किलागलमा देवी नाच (दी प्याखं) प्रस्तुत गर्न थालिएको छ ।

भाद्र चौथीको दिनमा मञ्चन गरिने यो नाचलाई इन्द्रजात्राको दिनसम्म प्रस्तुत गर्ने गरिन्छ ।

नृत्यु गुरु नरेन्द्र महर्जनका अनुसार इन्द्रजात्रामा प्रस्तुत गरिने विभिन्न नाचमध्ये यो नाच पनि एक हो । ‘इन्द्रजात्रा अब शुरु हुन लाग्यो भनेर यो नाचले संकेत गर्छ, पहिलो जात्रा यही नाचबाटै शुरु हुन्छ ।’, नरेन्द्र महर्जनले लोकपथलाई भने, ‘यसलाई नेवारी भाषामा दी प्वाखं पनि भनिन्छ, इन्द्रजात्राको अन्तिम दिन त्यो नाच देखाएर विसर्जन गरिन्छ ।’

परम्परागत रुपमा चल्दै आएको यो नाच अहिलेसम्म निरन्तर रुपमा अगाढि बढिरहे पनि यसलाई दीर्घकालीन रुपमा अगाडि बढाउन सरकारले पनि महत्त्व दिनुपर्ने महर्जनले बताए । ‘पहिलेको तुलनामा आर्थिक र भौतिक रुपमा केही कम हुँदै गएको छ, संस्कृति जोगाउन सरकारलाई घच्घचाएका छौँ, तर आवाज सुनिएको छैन ।’, उनले अगाडि थपे, ‘यसलाई जोगाउन सकिएन भने यो संस्कृति भावी पुस्ताले डकुमेन्ट्री या पुस्तकमा मात्र हेर्न पाउने हुन् कि भन्ने भय छ ।’

उनका अनुसार यो संस्कृति नेवारी संस्कृति मात्र होइन, नेपालीको साझा संस्कृति हो । ‘हामीले यो नाचलाई जर्गेना गर्न सक्यौँ भने नेपालमा पर्यटक पनि भित्र्याउन सकिन्छ, अब यो हाम्रो मात्र पर्व भएन ।’, उनले थपे ।

किंवदन्ती अनुसार देवी नाचसम्बन्धी रमाइला किस्सा छन् । एउटा किंवदन्ती के छ भने, हनुमानढोकाको कालभैरवस्थित दैविक रुपमा हरेक रात ईश्वरीय शक्ति प्रकट भएर मानवको भोग गर्न थालेको र राजालाई प्रजाको सङ्ख्या घट्दै गएकोमा चिन्ता लाग्यो ।

एकदिन अचानक राजाको सपनामा भगवान् प्रकट भए । र, उनले कालभैरवअगाडि देवीनाच देखाए यो समस्याबाट मुक्ति पाउने बताए । त्यसपछि राजाले देवी नाच शुरु गराए । र, त्यही परम्परा अहिलेसम्म पनि चल्यो ।

देवी नाचसम्बन्धी अर्को पनि किंवदन्ती छ – एक समय थियो, त्यतिबेला उपत्यकामा महामारी फैलियो । मानिस मर्दै गए । प्रजा सकिँदै जाँदा राजालाई प्रजाको चिन्ता लाग्यो । राजाले सपनामा देवी नाच देखाए यो महामारी रोकिने उपाय देखे । त्यसपछि नाच देखाइयो । महामारी पनि रोकियो ।

किंवदन्तीका अनुसार प्रजाको बचाउका लागि राजाले यो नाचको प्रचलन ल्याएको देखिन्छ । अहिले देवी नाच नेपालीको सांस्कृतिक गहना भएको छ । नेवारी समुदायले भने यो नाच लोप हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

तस्वीरः अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?