‘एएफसी’ यू-१६ महिला फुटबल छनोटको लागि तयारी राम्रो गरेका छौँ : प्रशिक्षक गुरुङ

काठमाडौं । नेपाली टिमकी मुख्य प्रशिक्षक गंगा गुरुङले ‘एएफसी’ यू-१६ महिला छनोट फुटबलको लागि तयारी राम्रो भएको बताएकी छिन् । 

मंगलवार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक गुरुङले थाइल्याण्डमा हुने ‘एएफसी’ यू-१६ महिला फुटबलको लागि छनोट हुने लक्ष्य रहेको बताएकी हुन् । 
 उनले साफ यू-१६ खेलेर धेरै अनुभव समेत हासिल भएको जानकारी दिइन् । 

‘हाम्रो टिमको तयारी निक्कै राम्रो छ, खेलाडीहरु पनि सबै फिट छन्, भुटान जानुअघि हामीले दुई महिनाको तयारी पनि गरेका थियौँ, उताबाट आएपछि तयारीलाई निरन्तरता दिइरहेका छौँ, आशा गरौ हाम्रो खेलाडीहरुले राम्रो खेल्नेछन्।’ उनले भनिन् । 

‘फिलिपिन्सविरुद्धको पहिलो खेल हाम्रो लागि निक्कै महत्वपूर्ण छ, दोस्रो चरणमा पुग्नका लागि पनि यो खेल जित्नै पर्ने हुन्छ । हामी जीत आफ्नो पक्षमा पार्ने रणनीतिका साथ खेल खेल्नेछौँ।’ उनले थपिन् । 

साथै, उनले नेपाली टोली अनुशासित, टिमवर्क, धैयर्ता र ट्याक्टिकल्ली राम्रो रहेको समेत जानकारी दिइन्।  नेपालले तीनवटै टिमसँग पहिलो पटक खेल्न लागेकोले विपक्षी टिमबारे भने थाहा नभएको उनले थपिन्।

यता, नेपाली टिमकी कप्तान प्रिती राईले सबै खेलाडीहरु मानसिक रुपमा तयार रहेको जानकारी दिइन् ।  ‘एएफसी’ यू-१६ महिला छनोट फुटबल मंगलवारदेखि काठमाडौंमा शुरु हुँदैछ । 

छनोट फुटबलको छनोट खेलको लागि सहभाथि चार वटै टोली तयार भएको बताइएको छ ।  सन् २०१९ मा थाइल्याण्डमा हुने ‘एएफसी’ यू-१६ महिला प्रतियोगिताको  पहिलो चरणको छनोट अन्तर्गत समूह ‘इ’ का खेलहरु हल्चोकस्थित एपीएफ मैदानमा हुँदैछ।

छनोटमा घरेलु टोली नेपालसहित म्यानमार, फिलिपिन्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।

छनोटमा ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाउँदै छन् । ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्। त्यस्तै ६ समूहका उपविजेता मध्ये उत्कृष्ट २ टोलीले समेत दोस्रो चरणको यात्रा तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?