चार वर्षपछि भक्तपुरका बालुवा खानी सञ्चालनमा आउने

भक्तपुर ।  भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएको छ । 

खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेको हो । 

चाँगुनारायण नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खानी सञ्चालकलाई आवश्यक कागजपत्र नगरपालिकामा बुझाउन आह्वान समेत गरिसकेको छ । भक्तपुरका बालुवा खानी तत्कालीन जिल्ला विकास समितिको प्रमुख आयस्रोत मध्येको एक थियो । 

खानी सञ्चालकले नै अनियमितताको उजुरी गरेपछि अख्तियारले खानीसम्बन्धी फाइल नियन्त्रणमा लिएको थियो । तर, अख्तियारले सो सम्बन्धमा छानबिन नै नगरी अहिले ती फाइल जिल्ला समन्वय समितिलाई फिर्ता गरेपछि खानी खुल्ने वातावरण तयार भएको हो । 

जिल्लामा २६ माटो तथा बालुवा खानी रहेको बताइएको छ । तत्कालीन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भएका ती खानी हाल चाँगुनारायण नगरपालिकाभित्र रहेका छन् । 

नगरपालिकाले दशैँ तिहारलगत्तै खानी सञ्चालनको तयारी गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । उनले त्यसका लागि खानी सञ्चालन कार्यविधिसमेत तयार गरिसकेको बताए ।  

उनले खानीमा लगाइने करसमेत नगरसभाले पारित गरिसकेको जानकारी दिए ।  

खानी सञ्चालनको स्वीकृति दिनुअघि नगरपालिकाले खानी सञ्चालकले बुझाएको कागजपत्र र खानीको स्थलगत अध्ययन गरिने र ती स्थानमा स्रोतको समेत पहिचान गरी खानी सञ्चालनको स्वीकृति दिइने उनले बताए ।

उनले खानी क्षेत्रको भौगोलिक अवस्था र जनस्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरका बारेमा समेत अध्ययन गरिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?