घिसिङ ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । 

नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस –२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।

दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पु¥याएका थिए । 

घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो । 

आव ०७४/७५ मा प्राधिकरणको नाफा एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ ।

सञ्चालन नाफा सात अर्ब ८६ करोड रहेको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो ।

जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करीब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?