स्किृप्ट राइटिङ प्रतियोगितामा गुरुङले जिते ‘द गिफ्ट’ का लागि तीन लाख

काठमाडौं । न्यू नेपाली सिनेमाले आयोजना गरेको तेस्रो संस्करणको स्क्रिप्ट राइटिङ (फिल्म लेखन) प्रतियोगितामा सुनिल गुरुङको स्किृप्ट ‘द गिफ्ट’ पुरस्कृत भएको छ । विजेता भएसँगै गुरुङले तीन लाख रुपैयाँ पुरस्कारस्वरुप पाएका छन् ।

इभेन्ट आयोजक मनोज अधिकारीका अनुसार प्रतियोगितामा झण्डै १ सय ५० जनाले भाग लिएका थिए । तीमध्ये दुई चरणमा गरी अन्तिम ३० जनालाई छनोट गरिएको थियो । सबैका स्किृप्ट दाबेदार भएकाले कुनै एक स्किृप्टलाई छानेर पुरस्कृत गर्न निकै गाह्रो भएको अधिकारीले बताए ।

‘सिनेमामा गहन छलफल आवश्यक छ भन्ने लागेर हामीले फेसबूक ग्रुप बनाएका थियौँ, छलफलका क्रममा नेपाली सिनेमामा सधै स्किृप्टको खडेरी हुने हुँदा प्रतियोगिताको कन्सेप्ट आएको हो’, आयोजक तथा फिल्म मेकर मनोज अधिकारीले भने, ‘यस्तो प्रतियोगिता खासमा विकास बोर्डले गरेको भए राम्रो हुन्थ्यो होला, तर सम्बन्धित निकायले कार्यक्रम गर्ने आँट गर्न सकेको छैन ।’

सामाजिक सञ्जाल फेसबूक ग्रुपमा छलफल हुँदा सन् २०१२ बाट शुरु भएको यो प्रतियोगिता बीचमा केही वर्ष भने हुन सकेन ।

अहिले फेसबूकको उक्त ग्रुप पनि निस्क्रियजस्तै छ । ‘ग्रुपमा र मलाई व्यक्तिगत रुपमा पनि अर्को प्रतियोगिताका लागि म्यासेज आइरहेकाले हामीले पुनः प्रतियोगिताको आयोजना गरेका हौँ, प्राप्त सबै स्किृप्ट उत्तिकै दाबेदार थिए ।’, अधिकारीले भने ।

छनोटमा परेको उत्कृष्ट ३० सिनेमाबाट रियाज नाटकरको ‘मी र म’ त्यस्तै विपिन भुसालको ‘अड वान आउट’ र सुनिल गुरुङको ‘द गिफ्ट’ टप तीनमा परेका थिए । तीनमध्येबाट ‘द गिफ्ट’ पुरस्कृत भएको हो ।

कार्यक्रममा निर्माता माधव वाग्ले, छविराज ओझा, अर्जुन कुमार, निर्देशक रामबाबु गुरुङ, दीपेन्द्र के खनाल लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै निर्माता माधव वाग्ले, छविराज ओझा र दीपेन्द्र के खनालले प्रतियोगिता आयोजनाका लागि मनोज अधिकारीलाई धन्यवाद समेत दिए । यस्तै दीपेन्द्र के खनालले आफूलाई सबै कथा सुन्न मन लागेको र फुर्सद भयो भने भेटेरै सबैका कथा सुन्ने बताए ।

विजेता सुनिल गुरुङ भने प्रथम भएपछि एकछिन बोल्न सकेनन् । उनले आफू अत्यन्तै खुशी भएको बताइरहेका थिए । उनले सिनेमाको कथानकका बारेमा पनि बताए ।

नेपाली सिनेमा स्किृप्ट राइटिङ प्रतियोगिता यसअघि दुईपटक सम्पन्न भइसकेको छ । तेस्रो संस्करणमा भने बाबा फाउन्डेसनले पनि सहकार्य गरेकोे थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?