एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

विपत्तिमाथिको विपत्ति

‘रौतहट चन्द्रपुरका दुई दिदीबहिनी एसिड आक्रमणमा परे । दिदीको अवस्था नाजुक । शरीरको ३५ प्रतिशत भाग जलेको ।’

निर्मला बलात्कार तथा हत्या प्रकरणले बिथोलिएको मनलाई यो खबरले झन् बिथोलिदियो । आफूले खाना पकाउँदा तेल उछिट्टिएर हात पोल्दा एक घण्टासम्म ‘ऐइया आत्था’ गरेको सम्झिएँ । मेरो मस्तिष्कले ती दिदीबहिनीको पीडा आँकलन गर्न सकेन । सोचेँ एकपटक अस्पताल पुग्नैपर्छ । पुगेँ ।

कीर्तिपुर अस्पतालको ओपिडीको बेड नं १ मा लम्पसार परिरहेकी १५ वर्षे सुस्मिता दास (बहिनी) का आँखा मतिर फ्याँकिए । केही दिनदेखि फाट्टफुट्ट पत्रकारहरुको आउजाउ भइरहेकाले म को हो भन्ने उनले ठम्याइहालीन् । पट्टी बाँधेको हातले मुख छोप्दै भनी ‘नाई फोटो नखिच्नृु !’ । छेउमै ५ महिनाको नानी च्यापेर बसेकी उसकी सानी आमा पर्मशीला दासले मधेसी लवजमा भनिन् ‘फोटो खिच्न मान्दैन । अरु पनि आएर धेरै फोटो खिचेकोले झर्को मान्छ ।’ 

एकछिन स्तब्ध भएर उसको शरीर नियालेँ । एक पट्टिको हात पूरै जलेको थियो । फेरि सम्झिएँ खाना पकाउँदा तेल उछिट्टिएको । चसक्क पोल्यो ! सुस्मिताका आँखा यताउता डुले । पानी खोज्दै रहेछन्, भेटेनन् । ‘पानी पानी’ ऊ बोली । छेउमा राखिएको दुईवटै बोतल खाली थिए । मैले पानी ल्याइदिएँ । खुवाइदिएँ । केही राहत महसुस गरेजस्तो गर्दै ऊ सुती ।

पर्मशीला लम्पसार परिरहेकी छोरीलाई हेर्छिन् । कान्छी आमा भएपनि उनको आँखामा मातृत्व झल्किन्छ । घटना भएको रात उनले कल्पनासम्म गरेकी थिइनन् यस्तो विपत्ति उनीहरुको जीवनमा आइपर्छ भनेर ।

तीजको अघिल्लो रात दर खाएर सधैंजसो उनी कान्छी छोरीलाई लिएर एउटा कोठामा सुत्न गएकी थिइन् । सम्झना र सुस्मिता पल्लो कोठामा सुतेका थिए । एक्कासि छोरीहरु रोएको, कराएको आवाज सुनेर उनी बिउँझिइन् । ढोका खोल्नासाथ दुई छोरीले उनलाई अँगालो हाले । ‘नानीको बाबा राति उता पुल हाउसतिर सुत्न जानुभाको थियो । म त आत्तिएँ । दुईजनालाई नै बाहिर लगेँ । त्यसपछि छिमेकीहरु पनि भेला भयो । सबैले यो त तेजाब हो भनेर हल्ला गर्न थाल्यो । अनि सबै मिलेर जलेको ठाउँ पानीले पखाल्दियौँ ।’ उनले त्यो क्षणको स्मरण गरिन् ।

केही समयदेखि पुल हाउस खोलेकाले जदोलाल (पिता) प्राय उतै सुत्न जान्थे । पर्मशीलाले फोन गरेपछि उनी तुरुन्तै घर आए ।  
...

सम्झनाको अवस्था बुझ्न म आइसियू कक्षतिर गएँ । भर्खरै शल्यक्रिया भएकाले उनको शरीरको माथिल्लो भागमा पुरै पट्टि लगाइएको थियो । जीवन र मरणको दोसाँधमा झुन्डिएको आशाको झिनो त्यान्द्रोले उनको सास चलाइरहेको इसिजी मेसिनले संकेत गर्यो । 

जदोलाल त्यही कक्षको बाहिर टहलिरहेका थिए । अस्पतालको बसाई, औषधी लिन, खाना लिन घरी यता घरी उताको भागदौडले उनी निकै थकित देखिन्थे । उनी थकित मात्र होइन चिन्तित पनि थिए । उपचार खर्चको चिन्ता, छोरी बाँच्छे कि बाँच्दिन भन्ने चिन्ता, बाँचे पनि ऊ पहिलेजस्तो हुन सक्दिन भन्ने चिन्ता । चिन्ताको अदृश्य पहाडले उनलाई गल्र्याम्मै थिचेको छ ।

फूलजस्तै कलकलाउँदा देखिने छोरीहरुलाई अस्पतालको शैंयामा विक्षिप्त अवस्थामा लडेको मुडाजस्तै देख्दा उनी घरीघरी झस्किन्छन् । “घटना हुने दिन ‘भोलि बाग्मतीतिर घुम्न जान्छु’ भनेकी थिइ अहिले आइसियूमा आइपुगी ।” सम्झनाले घटना भएको अघिल्लो दिन भनेको कुरा सम्झिँदै जदोलाल मर्माहित भए । ‘अब उपचार कसरी गर्नु हो खै ? अहिलेसम्म त गाउँबाट संकलन गरेर पठाकै पैसाले पुग्दैछ । तर यसकै भरमा त जहिले काम चल्दैन होला । आफूसँग न पैसा छ न त जग्गा ।’ खुइई गर्दै उनी खुम्चिए ।  

जदोलालले भर्खरै पुल हाउस खोलेका थिए । निम्न आर्थिक अवस्थाको दलदलबाट अब चाहिँ निस्किन्छु कि भन्दा नभन्दै भाग्यले उनलाई नमीठो गरी अझै भयंकर दलदलमा पछार्यो । एसिडको तापले छटपटाइरहेका छोरीहरुको क्रन्दन अझै उनको मानसपटलमा गुञ्जिरहेको छ । मध्यरातमा त्यस्तो अवस्थामा कहाँ लग्ने, के गर्ने उनले मेसो पाएनन् । छिमेकीको स्कुटरमा दुई छोरीलाई हालेर उनी स्थानीय अस्पताल पुगे । त्यहाँ उपचार गर्न नसकिने भएपछि  डाक्टरले उनीहरुलाई काठमाडौं ‘रेफर’ गरिदिए । त्यतिन्जेल जेठी छोरी सम्झना बेहोसी भइसकेकी थिइन् । 

प्राइभेट अस्पतालमा उपचार गर्ने जदोलालको हैसियत थिएन । त्यसैले डाक्टरहरुको सल्लाहमा बिहान साढे ३ बजे उनीहरुलाई कीर्तिपुर ल्याइयो । ‘त्यहीँको डाक्टरहरुले कीर्तिपुरको अस्पतालमा छालाको उपचार राम्रो र सस्तो हुन्छ भन्योे त्यही भएर यहाँ ल्याको ।’ उनले बताए । 

५ महिने कान्छी छोरीलाई काखमा खेलाउँदै दास बोले ‘डाक्टरहरुले अवस्था नाजुक छ भनेका छन् । खै के हुने हो । बाँचे पनि अब त यसको जिन्दगी बर्बाद भइहाल्यो । पहिला जस्तो कहिले हुन्छे होला मेरो छोरी ?’ 

‘रामबाबु पाश्वान हो अपराधी’ 

दास परिवारको गाउँघरमा कसैसँग दुश्मनी छैन । अहिलेसम्म कसैसँग झैझगडा, भनाभन पनि भएको छैन । यस्तो अवस्थामा कसले ग¥यो होला यो अपराध भन्ने प्रश्नमा जदोलाल भन्छन् ‘रामबाबु पाश्वान हो अपराधी ।’ ‘मलाई त्यसैमाथि शंका छ । प्रहरीले पनि उसलाई आफ्नो हिरासतमा लिइसकेको छ ।’ उनले थपे ।

रामबाबु पाश्वान, जदोलालका छिमेकी, करिब ५३–५४ वर्षका अधबैसे हुन् । सम्झना र सुस्मिताले उनलाई ‘ठुलोबुबा’ भन्थे । घटना भएको रात उनी जदोलालसँगै कीर्तिपुर अस्पतालसम्म आएका थिए । कुरुवा भएर उनी एक रात त्यहीँ बसे । प्रहरीले सम्झनाको कल विवरणको बारेमा कुरा गर्न थालेपछि भने पाश्वान आफ्नो फोन हराएको बहाना बनाएर घर फर्किए ।

आफूले छोरी भन्दै आएको सानी नानीलाई किन यस्तो गरे होलान् उनले भन्ने प्रश्नमा जदोलाल केही जङ्गिदै बोले ‘त्यसले छोरी मात्रै मानेको भए त्यत्रो २ सय चोटी फोन गर्छ ? अन्तिम कल पनि उसकै छ ।’

पाश्वानले करिब २ सय पटक सम्झनाको नम्बरमा फोन गरिसकेको तथ्य सम्झनाको ‘कल हिस्ट्री’ ले प्रष्ट्यायो । त्यस्तै सम्झनाको फोनमा गरिएको अन्तिम कल पनि पाश्वानकै नम्बरबाट आएको थियो । यस्ता प्रमाण, पाश्वानको बदलिँदो व्यवहार आदि विविध कारणले उनलाई शंकाको घेरामा बाँध्यो ।

आफूले छोरी भन्दै आएको सानी नानीलाई किन यस्तो गरे होलान् उनले भन्ने प्रश्नमा जदोलाल केही जङ्गिदै बोले ‘त्यसले छोरी मात्रै मानेको भए त्यत्रो २ सय चोटी फोन गर्छ ? अन्तिम कल पनि उसकै छ ।’

‘एसिडले जलाएपछि मेरो छोरीसँग कसैले बिहे गर्दैन भनेर नै हो त्यसले यस्तो गरेको ।’ जदोलाल जङ्गिए ।

जदोलालका अनुसार केही समयदेखि सम्झनाको विवाहको कुरा चल्दै थियो । आफ्नी छोरीको प्रेमसम्बन्धको बारेमा जानकारी भएकाले उसकै प्रेमीसँग विवाह गराइदिने वाचा समेत गरेका थिए उनले । केटाको जात आफ्नोभन्दा ठूलो भएकाले उसको परिवारले अनुमति दिए बिहे गर्दिने सोच बनाएको जदोलालले बताए । सम्झनाको विवाह अरुसँग नहोस् भन्ने हेतुले नै पाश्वानले यस्तो गरेको हुनुपर्छ भन्ने पीडित पक्षको ठम्याई छ । 

‘एसिडले जलाएपछि मेरो छोरीसँग कसैले बिहे गर्दैन भनेर नै हो त्यसले यस्तो गरेको ।’ जदोलाल जङ्गिए ।

जदोलाल चाहन्छन् उनकी छोरीलाई जलाउने अपराधी पनि ऊ जस्तै तड्पिओस्, उसलाई जति पीडा भयो त्यसको सैयौं गुना बढी पीडा अपराधीलाई होस् । 
‘कुनै न्यायालयले मेरी छोरीलाई न्याय दिन सक्दैन । उसले न्याय पाउन अपराधी पनि जिउँदै जल्नुपर्छ । म त्यसलाई जलेको हेर्न चाहन्छु ।’ उनी भावविह्वल भए । अनि मसिनो आवाज सुनियो ‘कस्तो न्यायले मेरी छोरीको एसिडले डढाएको अनुहार पहिलेजस्तो बनाउँछ ?’ जदोलाल घुक्कघुक्क रोए । 

 

Leave a comment