मलेसियामा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेमा ६ नेपाली

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या  १७ पुगेको छ भने १४ जनाको अवस्था गम्भिर रहेको छ । 

मन्डेला ह्विस्की,  किंगफिशर बीयर र ग्रैंड रयल ह्विस्कीको तीन ब्रान्डका मदिरा सोमबार पसलबाट खरिद गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेमा मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा रहेका नेपालीहरु पनि रहेको जनाइएको छ । 

बुधबार बिहानसम्म मृत्यु हुने नेपालीको संख्या छ जना पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका थिए । 

उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूतावासले जनाएको छ ।  

मलेसियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको हो र सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ ।

त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । 

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?