मेलम्ची । मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गरेका छन् ।
व्यावसायिक रुपमा गोलभेँडा खेती गरेको गिरीले यस वर्ष चार टनेल थपे । उनले गोलभेँडा प्रतिकिलो ५० मा बिक्री गर्दै आइरहेको पनि बताए ।
टनेलमा गरेको गोलभेँडा र अन्य तरकारी खेतीबाट उनले दुई वर्षमा ४९ हजार नाफा कमाए । टनेलमा तरकारी खेती गर्दा अन्न बालीभन्दा झण्डै १० गुणा बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।
“टनेलमा पहिलो पटक तरकारी खेती गरेको हुँ । एउटा याममा खर्च कटाएर रु २० हजार नाफा भयो,” गिरीले भने ।
५० प्रतिशत अनुदानमा चार टनेलका लागि प्लास्टिक खरीद गरी गिरीले पाँचै टनेलमा थोपा सिँचाइ सेट जडान गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले दुई तथा केयर नेपाल र आत्मनर्भर केन्द्रको जीविकोपार्जन सुपर परियोजनाले दुई टनेलका लागि प्लास्टिक ५० प्रतिशत अनुदानमा किनेको गिरीले बताए ।
उनले भने, “टनेलमा थोपा सिँचाइमार्फत खेती गर्दा थोरै पानीले सिँचाइ गर्न सकिने, झार कम आउने भएकाले समयको बचत भई अन्य काम गर्न पाइने र उत्पादन पनि दशौँ गुणा बढ्ने रहेछ ।” केउरानीमै कृषिउपज सङ्कलन केन्द्र भएकाले बजारको समस्या छैन ।
विसं २०७३ मा पहिलो पटक गोलभेँडाबाट १८ हजार नाफा लिएको गिरीले जानकारी दिए । संस्थाले निःशुल्क रुपमा तरकारीको बीउ, टनेल निर्माणका लागि प्लास्टिक, केही कृषि औजार, थोपा सिँचाइ सेट र व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम उपलब्ध गराएपछि तरकारी खेती गर्न सहज भएको हो ।
जिल्लामा गोलभेँडा खेतीमा गिरीसँगै ४ सय भन्दा बढी किसान आबद्ध छन् । बीउबिजन तथा सामग्री सहयोग पाएपछि किसान तरकारी खेती गर्न उत्प्रेरित भएका छन् ।
टनेल वरपरको जग्गामा अलैँची, भेडे खुर्सानी, भण्टाका साथै किबी, अनार, कागती, अलैँची, जुनार, नास्पातीलगायतका फलफूलसमेत किसानले लगाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया