‘पैतालाका डोबहरु’ मा देशभक्ति र प्रेम

काठमाडौं ।
‘दुःखसुखको जिन्दगीमा जिलाउँदै जानुपर्छ 
मनैदेखि मनको नाता मिलाउँदै जानुपर्छ 
हामीबीचको सिमानामा किला ठोक्नेलाई 
दुई मुटु एक बनाई हिलाउँदै जानुपर्छ’ 

हाइकु विधामा परिचित ऋषि बरालको मुक्तक ‘पैतालाका डोबहरु’ आज विमोचन भएको छ । ती मुक्तकमा विशेषगरी मायाप्रेम, देशभक्ति, वियोग र मातृशोकका विषयलाई समेटिएको छ । 

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा यहाँ बरालको मुक्तक विमोचन गर्दै साहित्यकार रत्नशमशेर थापाले बरालको मुक्तक र हाइकु अन्तर्राष्ट्रियस्तरको भएको बताउँदै अहिलेको सन्दर्भमा मुक्तकको भविष्य राम्रो भएको विचार राखे ।

प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले बरालका मुक्तक पठनीय भएको तर नेपाली भाषाको शुद्धतालाई विशेष ध्यान दिनुपर्ने बताए । साहित्यकार रामकुमार पाँडेले नेपाललाई चिनाउन साहित्यकारको भूमिका मुख्य रहने जापान, अमेरिकालगायत देशमा जस्तो नेपालमा भएका पनि प्रतिष्ठानले पर्याप्त रुपमा साहित्यका विधाहरुको अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
स्रष्टा बरालले आफ्नो बढी झुकाव हाइकुमा भए पनि मुक्तक पनि लेखिरहने जानकारी दिए ।

‘मन भत्केर दुःख भुल्न थोरै पिएका बेला 
नआऊ झस्काउन झुत्रो मन सिएका बेला 
मुटु सम्झी जीवन दिएँ केवल तिम्रै लागि 
बाँकी भए लैजाऊ, मुटु झिकी जिएका बेला’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?