काठमाडौं । नेपाली खेलकुद जगतका मूख्य समस्याहरुको चाङमध्ये सबै भन्दा जटिल समस्या हो खेलाडीहरु विदेशिनु । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा हुने फोहोरी राजनीतिबाट आजित भएर पनि धेरै खेलाडीहरु विदेशीने गरेका थुप्रै उदाहरणहरु हामीसँग छन् ।
हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दै गर्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । मुख्यतः, खेलकुद क्षेत्रमा हुने राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको खेलविज्ञहरु बताउँछन् ।
तैपनि, राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउनसकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।
राष्ट्रिय फुटबल टिमबाटै विदेशिनेको लर्को
केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया हानिए । उनीसँगै राष्ट्रिय फुटबल टिमकै अर्का सदस्य फरर्वाड दर्शन गुरुङ पनि अस्ट्रेलिया गए ।
उनीहरु त भर्खरै विदेशिएका हुन । यसै वर्षमात्रै आशिष लामा र सुमन लामा पनि अस्ट्रेलिया गएका छन् ।
यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् ।
पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृृष्टान्त छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सहभागिताका हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् ।
खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ । विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्गाउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ ।
नेपाली खेलकुदलाई नियालिरहेका खेलविज्ञ सुशिल नरसिंह राणाले आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यात्मक परिस्थिति रहेको बताउँछन् । खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको राणा सुनाउँछन् ।
विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नका लागि वर्षभर व्यस्त रहने खेल तालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने राणाको बुझाइ छ ।
‘आशा नभएपछि पलायन हुनु ठूलो विषय होइन । सबै भन्दा महत्वपूर्ण विषय नेपाली खेलाडीले खेल बाहेक अरु केही सोच्नै नपर्ने खालको संयन्त्र राज्य स्तरबाट बन्न सकेको छैन,’ राणा भन्छन् ‘नेपाली खेलाडी पैसाको मात्र लागि भन्दा पनि नाम, इज्जत र प्रतिष्ठाको लागि पनि खेल्छन् । ती खेलाडीहरुले उपयुक्त वातावरण पाइरहेका छैनन् ।’
साथै, खेलकुद क्षेत्रमा तल्लो तहदेखि माथिल्लो तहसम्म हुने राजनीतिक हस्तक्षेपको मर्कामा खेलाडीहरु परिरहेका हुन्छन् । ‘खेल क्षेत्रमा थुप्रै राजनीतिक हस्तक्षेप छन्,’ उनी भन्दै थिए, ‘ खेलकुदमा जीवन अपर्ण गरेका व्यावसायिक मान्छेहरु खेल भन्दा टाढा छन् । उनीहरुले टुलुटुलु हेर्नुको विकल्प छैन ।’
नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन् । यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिष्पर्धात्मक प्रतियोगिताको अभाव छन् । तय भएका राष्ट्रिय प्रतियोगिता पटक–पटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । तर, विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविज्ञ राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताउँछन् ।
विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालिन नभएको उनको बुझाई छ ।
नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन् । भविष्यको प्रत्याभुति नहुँदा धेरै राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन । र, यो क्रम बढ्ने क्रममा रहेको छ । करातेबाट नेपाली खेलकुदलाई धेरै पटक दिलाएका दीपक श्रेष्ठ विगतमा खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराइनेमा धेरै फरक हुनाले खेलाडी टिकाउन मुस्किल भएको बताउँछन् ।
श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भएपनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छोड्ने गरेको बताए ।
‘नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट बनाउनुपर्छ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरु बनाएको अवस्थामा खेलाडी पलायन रोक्न सकिन्छ ।’
आठौं साफ अघि राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई आफ्नो खेलमा स्वरोजगारको अवसर थियो । आफू भिजेको खेलमा जोडिन पाउँदा भविष्य निश्चित थियो । तर, १२ औं साफपछि त्यो अवस्था रहेन । अहिले का खेलाडीले खेलेर के पाउने त ? उनी प्रश्न गर्छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आएपनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया