च्याम्पियन्स लिग : रोनाल्डोले पाए ‘रेड’ कार्ड, युभेन्ट्सद्वारा भ्यालेन्सिया स्तब्ध

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्ट्स विजयी भएको छ । 

बुधवार राति सम्पन्न भएको खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।  खेलको २९ औँ मिनेटमा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएको आरोपमा रेफ्रिले रातो कार्ड दिएका थिए । 

१० खेलाडीमा सिमीत युभेन्ट्सले खेलको पहिलो हाफ सकिनै लाग्दा पहिलो गोल गर्‍यो ।  भ्यालेन्सिया कप्तान ड्यानी परेहोको गल्तीमा युभेन्टसले पेनाल्टी पाएको थियो।

युभेन्ट्सका डिफेन्डर जोआओ क्यान्सेलोलाई पेनाल्टी क्षेत्रभित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिएका थिए । सो अवसरलाई मिरालेम प्यानिचले सदुपयोग गर्दै गोल गरे । त्यस्तै, खेलको ५१ औँ मिनेटमा प्यानिचले अर्को गोल थप्यो ।

निर्धारित समयसम्म भ्यालेन्सियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेलमा २-० को हार बेहोर्यो । 

त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा रियल म्याड्रिडले रोमालाई ३-० गोल अन्तरले पराजित गर्‍यो । रियल म्याड्रिडको जीतमा खेलको ४५ औँ मिनेटमा इस्कोले, ५८ औँ मिनेटमा ग्यारेथ बेलले तथा ९१ औँ मिनेटमा मारियनोले समान एक-एक गोल गरेका थिए ।

बुधवार राति नै भएको शाख्तर डोनेस्क र होफेनहेइमबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ । यता भिक्टोरिया प्लाजेनले र्सिसकेए मस्कोलाई दुई-दुई गोलको बराबरीमा रोक्न सफल भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?