अग्ली, गहुँगोेरी, सिलिक्क परेको कालो लामो कपाल अनि चटक्क परेको कपडा लगाउँदा पिङ्कीलाई बाटो हिँड्नेहरूले पनि एकपटक फर्केर हेर्ने गर्छन् । उनको आवाज पहिलो पटक सुनेर नहाँस्ने सायद कम नै होलान् ।
नीलहिरा समाज (ब्लू डायमण्ड सोसाइटी)की अध्यक्ष पिङ्की जन्मजात पुरुष हुन् । धेरै भएको छैन नेपाली समाजले तेस्रो लिङ्गीलाई स्विकारेको । अझ स्विकार्ने वर्ग पनि धेरै सानो छ । सञ्जिव गुरुङबाट पिङ्की गुरुङ सम्मको यात्रा निकै असजिलो थियो । तर आफू र आफूजस्तै तेस्रोलिङ्गीका लागि आवाज उठाउने काममा लाग्दालाग्दै आज उनले आफूलाई यति बलियो बनाएकी छिन् कि उनलाई छक्का, हिजडा जस्ता अपमानित शब्दले एक रत्ति पनि छुदैन । अर्थात् ‘स्ट्रङ लेडि’ । समाजले लाञ्छाना लगाउँछ तर उनी कुनै पर्वाह नै गर्दिनन् । भन्छिन्, मनमा ठेस त पुग्छ तर आत्मविश्वास र निडरता शक्ति बनेको छ ।
सञ्जिव गुरुङ हुँदा
जन्मजात पुरुष भएर जन्मिएर महिला भएर बाँच्छु भन्न निकै कठिन छ नेपाली समाजमा तर पिङ्की गुरुङ एउटा यस्तो नाम हो ओम गुरुङ र शान्ति माया गुरुङ को कोखबाट २०३५/०९/०५ सालमा जन्मिदा छोराको रुपमा जन्मे ।
नाम राखियो सञ्जिव गुरुङ ।
अरु केटा मान्छे जसरी हुर्काइन्छन् त्यसरी नै उनी पनि हुर्किए । १२–१३ वर्षको हुँदा सम्मममा कुनै खालको परिवर्तनको महसुस भएको थिएन । तर बिस्तारै उनको शरीरमा आएका परिवर्तनहरु पुरुषको जस्तो भएतापनि तन र मन भने केटीको जस्तै हुनथाल्यो । केटीको जस्तै मेकअप गर्न मन लाग्ने, कपडा लगाउन मन लाग्ने हुनथाल्यो । नेल पोलिस र लिपिस्टिकले तान्यो उनको मन । न कि फूटबल र फाईट । ‘किन म अरु भन्दा फरक छु ? ’ मनमा कैयौं प्रश्न थिए उनको ।
तर भन्नु कसलाई ?
स्विकार्छ कस्ले ?
घरमा केहि भन्ने पो हो कि ?
अनि समाज ?
यो र त्यो प्रश्नहरुको बिचमा उनी मिचिए ।
तर मनमा चलेको हुण्डरी २९ वर्ष सम्म छिप्यो ।
लुकाए । अर्थात् छोरा भएरै बाँचे । समाजका लागि उनी केटा नै थिए । तर आफ्नो लागि भने केटी । उनको इच्छा, चाहना र रहरहरू सबै केटी जस्तै थिए ।केटा भएर केटी प्रति प्रेम बढ्नु, आकर्षण बढ्नुको सट्टा केटाप्रति आकर्षण हुने, लाजलाग्ने, राम्रो केटा देख्दा गाला रातो हुन्थ्यो । सार्वजनिक सवारीमा यात्रा गर्न निकै कठिन । गाडीमा चड्दा यो छक्काका लागि चड्ने गाडी होइन भन्थे । मनमा धेरै पीडा र चोट गुम्सिएका थिए । तर म को हुँ, मलाई यस्तो किन हुन्छ ? म यस्तो हुनु कतै कुनै रोग त होइन भन्ने थुप्रै प्रश्न उनीभित्रै अनुत्तरित थिए ।
सानोमा उनले करकापमा परेर बल खेलेका थिए । केटाहरुको संगत गरेर उनले न चङगा उडाउन जाने न गुच्चा खेल्न । तिहारमा केटी बनेर नाँच्न जाने गर्थे ।
सानो हुँदा आमासँग चुरा किन्न बजार गएका सञ्जिव गुरुङ आमाको पैसा चोरी हुँदा कहिले पैसा कमाएर आमालाई दिने होला भनेर चिन्तित हुन्थिन् ।
एक सरो लुगामा काठमाडौं आएका सञ्जिव गुरुङका बुबाले एउटा सपना देखका थिए । सञ्जिवलाई आर्मीको मेजर बनाउने सपना । उनको विवाह पनि उनको फूपुको छोरीसँग तय भइसकेको थियो ।
स्कुल सकिएपछि जब उनी कलेज गए तब उनलाई म अरु भन्दा भिन्न छु भन्ने आभाष भईरहन्थ्यो । केटी साथीहरु थिए तर गलफ्रेन्ड थिएनन् । अरु उनको कक्षाको साथीहरुले उनलाई गलफ्रेन्ड नभएकोमा तिमी पनि केटीहो कि के हो भन्दै जिस्काउने गर्थे उनको मानमा चिसो पस्थ्यो तर उनको भित्री सत्यता भनौं वा चाहना , उनलाई केटा नै मन पथ्र्याे ।
आइए पढ्दा उनको कक्षामा मन मिल्ने साथी नभएर संगीतको कक्षामा मात्र बसेर घर आएको अनुभव उनी सँग छ । कक्षामा सधैं उनी एक्लो हुन्थे किनकि उनी अरु भन्दा भिन्न थिए । केटा भएपनि केटाहरुको जस्तो स्वभाव थिएन तर उनले ठूलो संख्यामा महिला र पुरुषमात्र देखेकाले म गलत हो भन्ने उनको मनमा पसिसकेको थियो ।
‘म केटा नै हुनपनि कोसिस गरेँ तर सकिन, किनभने म त्यो थिइन ।’, पिङ्की भन्छिन् ।
केटा भएर बस्न कोसिस नगरेको त होइन तर उनी जे हुन् त्यही हुन चाहन्थिन् । उनी महिला हुन चाहन्थिन र महिला भएर बाँच्न ।
२०५३ सालतिर उनको स्वास्थ्यमा समस्या आयो । उनी अस्पलातबाट सबै उपचार सकिएपछि रत्नपार्क हुँदै घर फर्कंदै थिइन् ।
त्यहाँ पहिलो पटक उनको समलिङ्गी, तेस्रो लिङ्गीहरुसँग भेट भयो । पहिला उनीहरुलाई देखेर उनी डराइन् । आफूलाई केटाहरु मन पर्ने भएकाले केटाहरु पछि लाग्दा उनी खुसी चाहिँ थिइन् तर उनको मनमा डर पनि थियो ।
समाजले भन्ने गरेको छक्का, हिजडा यस्तै पो हो कि भन्ने उनलाई लागेको थियो । समाजले बोलाउने अपहेलित शब्दहरुबाट आफूलाई बचाउन भरसक कोशिस गरिन् ।समाजले जे भने पनि उनले आफूलाई कहिले त्यो वर्गमा राख्न चाहिनन् । उनीहरुलाई देखेको एक हप्ता सम्म उनलाई निन्द्रै लागेन । म पनि उनीहरु जस्तै पो हो कि भन्ने प्रश्न मनमा यसरी गढ्यो कि उनले सत्य अस्वीकार गरिन् ।
त्यसपछि उनी दोस्रो पटक त्यहाँ गइन् । उनको त्यस ठाँउमा जाने क्रम बढ्न थाल्यो । उनको एकजनासँग भेटभयो । उनीहरु साथी भए । कुराहरु पनि मिल्न थाल्यो । अनि उनले आफ्नो वास्तविकता महसुस गरिन् । आफू अरु भन्दा कसरी भिन्न छु भन्ने उनलाई थाहा भयो ।
सञ्जिव गुरुङबाट पिङ्की गुरुङमा परिर्वतन
‘एक दिन मैले आफूलाई केटीको रुपमा ढालेँ र घरबाट बाहिर निस्कन गेटसम्म पुगेँ तर गेटबाट पाइला अगाडि बढेन । म फेरि पछाडि फर्किएँ । तर मैले आँट गरेँ । घरबाट निस्केँ र पाइला अगाडि बढाएँ, जुन आज सम्म निरन्तर चलिरहेका छन् ।’ पिङ्कीले भनिन् ।
२००१ मा नीलहिरा समाज स्थापना भयो । गाह्रो थियो । केटा भएर केटीको लुगा लगाएर हिँड्दा यो बिकृती हो भन्ने आरोप लाग्ने गरेको थियो ।
२००३ मा उनले पहिलो अन्तर्वार्ता दिएकी थिइन् । खुलेर समाजमा आउन सक्ने अवस्था नभएकाले उनको अनुहारमा कालो छायाँ राखिएको थियो । त्यो अन्तर्वार्ता टिभीमा प्रशारण भयो । परिवारसँग बसेर हेरेकाले उनको परिवारले आवाजबाट उनलाई चिन्यो । घरमा उनलाई सोधियो पनि तिम्रो आवाज हो भनेर । उनी मौन रहिन् । त्यसबेला उनीसँग कुनै पनि जवाफ थिएन ।
२००८ मा उनले आफूलाई सम्पूर्ण रुपमा महिलामा परिवर्तन गरिन् ।
उनले एकैपटक आफूलाई परिवर्तन गरिनन् । यो उनको हरेक दिनको लडाईं थियो । उनी कहिले पुरै महिलामा परिवर्तन भइन् उनको परिवारलाई पत्तै भएन ।
उनको आमाबुबा, घरपरिवारले ‘तँ किन यस्तो’ भन्ने प्रश्न चिह्न कहिले लगाएनन् ।
हिम्मत नहारेको, डर, लाज नभएको पनि होइन तर उनको आफ्नो पहिचान लुकाएर बस्न चाहिनन् । उनलाई समाजमा खुलेर बाँच्नु थियो । स्वतन्त्र भएर समाजमा अगाडी बढ्नु थियो ।
छिमेकीहरुले उनको बुबालाई तपाईंको छोरा किन छोरी जस्तो भएको भनेर धेरै कुराहरु सुनाउने गर्थे । तर पिङ्कीले आफ्नो बुबालाई तपाई भाग्यमानी भएर तपाईको घरमा तेस्रो लिङ्गी जन्मिएको भन्दै सम्झाउने गर्थिन् । कसैले चाहेर पनि तेस्रो लिङ्गी सन्तान जन्माउन नसक्ने भएकाले मान्छेको पछाडि नलाग्न उनले आग्रह गरिन् ।
तपाईको घरमा छोरा, छोरी र तेस्रोलिङ्गी तीन थरीको सन्तान भएकाले तपाईं अरु बुबाआमा भन्दा भाग्यमानी भएको भन्दै उनैले घरमा आफ्नो लाागि आफैं सहज वातावरण बनाउँदै गएकी हुन् ।
‘काठमाडौं गएपछि ठूलो कान्छाको कान निमोठ्छु’ भन्ने फूपु पनि उनलाई देखे पछि ‘उसको जीवन उसको तरिकाले बाँच्न दिनु’ भनेर घर फर्केकी थिइन् ।
घर परवारले स्वीकार गर्नु नगर्नुमा व्यक्ति आफैंमा भर पर्ने उनको भनाई छ ।
मान्छेले हरेक दिन फरक फरक तरिकाले चित्त दुखाउँछन् । तीजको लागि गहना किन्न जाँदा उनको आवाज सुनेर त्यहाँको मान्छेहरु एक अर्काको मुख हेरेर हाँसे ।
मानिसमा क्षमता भयो भने अरुले हेप्न नसक्ने उनको बुझाइ छ ।
उनको बुबाको निधन भएको ३ वर्ष भयो । तेस्रो लिङ्गी भएर पनि आफ्नो बुबाको विश्वास जित्न सफल भएकोमा उनी गर्व महसुस गर्छिन् ।
उनको फुपूको छोरीले ‘तँ बौलाइस्’ भन्दा ‘तपाई चाहिँ संसार घुमेर पनि अन्धो हुनु भएछ’ भन्ने जवाफ उनी तत्काल नकाल्थीन् ।
नीलहिरा बाहेक उनीहरु कतै रमाउन नसक्ने उनको भनाइ छ । विदेश जाने उनको योजना भित्र छैन । नीलहीरा समाज नेपालकी अध्यक्ष पिङ्की गुरुङ राजनीतिमा पनि उतिकै सक्रिय छिन् । उनी समलिङ्गी र तेस्रो लिङ्गीको मुद्दालाई राजनीतिक मुद्दा बनाउन चाहन्छिन् ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुप्रति समाजमा अझै पनि लाञ्छना र विभेद कायमै रहेको उनको भनाइ छ ।
पहिचानका सवालमा राज्य, परिवार तथा समाजमा विभेदको जालो जकडिएको उनको बुझाई छ । अरु मानव सरह तेस्रो लिङ्गी तथा समलिङ्गीलाई रोजगार, आरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्नेमा उनी जोड दिन्छिन् । तेस्रो लिङ्गी र समलिङ्गी विवाहलाई कानूनी मन्यता नदिएको कारण समुदायमा आफ्नो अधिकारलाई प्रयोग गर्न र ढुक्क भएर बाँच्ने अवस्था नरहेको उनको भनाइ छ ।
समयसँगै आफू प्रति मानिसको दृष्टिकोणमा सकारात्मक परिर्वतन आउनुलाई उनले सबैभन्दा ठूलो उपलब्धी ठानेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया