मुस्ताङ । नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।
घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीवार शुरु भएको ४८ औँ थाक खेलकूद प्रतियोगिता उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् ।
“खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार कार्यान्वयन प्रक्रिया अघि बढेको छ”, मन्त्री विश्वकर्माले भने, “ यसका लागि स्थानको सम्भाव्यता अध्ययन भइरहेको छ ।” उनले मुस्ताङमा थातथलो भएका थकाली समुदायको ‘आर्चरी खेल’ प्रर्वद्धनमा सरकारले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकूद र सँस्कृति संरक्षणमा थाक खेलकूद प्रतियोगिताले उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।
उक्त प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला भलिबल, आर्चरी, मिस मुस्ताङ, थकाली भाषामा गीत र नृत्यको प्रतियोगिता गरिने थाक खेलकूद विकास संघका अध्यक्षसमेत रहेका प्रदेश सांसद चन्द्रमोहन गौचनले जानकारी दिए ।
प्रदेश सांसद महेन्द्रबहादुर थकाली, इन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरिङल्यामु गुरुङलगायत स्थानीय तहका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
सबै प्रतियोगितामा मुस्ताङका आठ क्लबले सहभागिता जनाएका छन् । पुरुष भलिबलको उद्घाटन खेलमा साविक विजेता निर्मल स्पोर्सट क्लब लेतेले जनकल्याण युवा क्लब स्याङलाई पराजित गरेको थियो ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्डसहित नगद पुरस्कार प्राप्त गर्नेछन् । सोही अवसरमा घरपझोङ गाउँपालिकाले कृषि मेला प्रदर्शनीको समेत आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया