मूल्यवृद्धि र अभावको विरुद्धमा जनता सामाजिक सञ्जालमा यसरी खनिए (फोटोफिचर)

‘अरिङ्गाल पोल्न मट्टीतेल, डिजेल र पेट्रोल प्रयोग हुने भएकाले आइन्दा अरिङ्गाल कसैले नपोलोस् भनेर यी तीन चिजको मूल्य बढाइएको हुन सक्ने अनुमान गरियो । खाना पकाउने ग्यास र हवाई इन्धनको यथावत् रहेछ नि त ।’ सुमन घिमिरेले ३ दिन अगाडि ट्वीट गरे । 


निर्जला निरौलाले ट्वीटर मार्फत ‘अब त प्र.म. ज्यूले पेट्रोल रु १०० जति पाइन्छ सकेको हाल्नुस भन्नु भो भने पनि पत्याइँदैन के थाहा उहाँले आधा लिटरको पो कुरा गर्नु भा होकि ।’ भनेकी छिन् ।

 

कतिपयले त फेसबुकको वालमा बाइक रुखमा झुण्डाएको व्यंग्यात्मक तस्वीर बनाएर पोष्ट गरेका छन् । 

नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना शुरु भएको हो । प्रतिक्रिया उच्च देखिए ।

असोज १ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको थियो । 

त्यस्तै, मट्टीतेल र डिजेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ बढाइएको हो । अब पेट्रोल प्रतिलिटर एक सय १४ रुपैयाँ छ भने  डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ पुगेको छ । भारतीय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य बढेकाले नेपालमा पनि बढाएको आयल निगमका अधिकारीहरुले बताउँदै आएका छन् भने ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पद्धार्थ ढुवानी नगरेका हुन् । 

पेट्रोलियम पद्धार्थको मूल्य वृद्धिले जनता मारमा परेका छन् । त्यति मात्रै कहाँ हो र ? पेट्रोल भर्नको लागि घण्टौं लाइनमा बस्नुपर्छ ।   

बारम्बार मूल्य वृद्धि हुनु र निगमले अन्तर्राष्ट्रिय आधार मानेर मूल्य वृद्धि गरेको भन्नु लज्जास्पद कुरा भएको भन्दै टिकाटिप्पणी पनि भएका छन् । 

यसबाट विशेषगरी किसान, व्यापारी, यातायात व्यवसायी, विद्यार्थी साथै अन्य सर्वसाधारणलाई प्रत्यक्ष असर परेको छ । 


घण्टौं लाइनमा बस्दा पनि सवारी साधनहरुले डिजेल, पेट्रोल नपाएको समस्या एकातिर छ भने अर्को तर्फ पेट्रोलियम पद्धार्थको मूल्य वृद्धिका कारण नजिकिँदै गरेको नेपालीहरुको महान चाड दशैंको अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन । 

चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पद्धार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौं लाइन बस्नुपर्ने बाध्यता आएको हो ।

मुलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध  ट्याङ्करसहित सम्पूर्ण सवारी चालकले विरोध गर्दै पेट्रोलियम पद्धार्थको ढुवानी रोकेपछि पेट्रोलपम्पले भएको पेट्रोलियम पद्धार्थ समेत बिक्री नगरी सटर लगाएपछि एकाएक अभाव चुलिएको हो । 

बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि केही पेट्रोलपम्प बन्द भएका छन् ।  काठमाडौंमा पेट्रोल अभाव हुँदा बिहीवार बेलुकी देखिनै सवारीसाधन पेट्रोलको लाइनमा थिए । शुक्रवार (आज) पनि लाइन उत्तिकै छ ।

पेट्रोलियम पद्धार्थको हाहाकार मच्चिने अवस्थालाई कम गर्ने नेपाल आयल निगमले कोटा तोकेको छ । यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि तय भएको हो । 

यसैबीच पेट्रोलियम पद्धार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्याङ्करहरु सुरक्षा निकायका चालकले ल्याउने तयारी भइरहेको छ ।  

उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवको निर्देशनमा चालकहरुको हड्तालले अवरुद्ध बनेको पेट्रोलियम ढुवानीलाई सहज बनाउन, नेपाल एयरलाइन्सको प्लेन चार्टर गरेर सुरक्षा निकायका करिव ६० चालकहरुलाई देशका विभिन्न डिपोहरूमा पठाइएको छ भने अरु थप चालकहरुलाई पठाउने पनि तयारी भइरहेको छ । 

हेर्नुहोस् सामाजिक सञ्जालमा जनताको आक्रोश यस्तो देखियो । 

तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?