आइ लाइक वेन दे कल मी ‘डिडी’
उनले ‘दिदी’लाई आफ्नो अङ्ग्रेजी लवजमा ‘डिडी’भन्दा क्या स्वादिलो सुनियो । ‘दिदीको अर्थ थाहा नहोला भनी सोध्दा उनले सजिलै जवाफ दिइन् ‘एल्डर सिस्टर’ । अहिलेसम्म २ सय भन्दा बढी बालबालिका तथा महिलाकी ‘डिडी’ बनिसकेकी इभाले आफूले नयाँ जीवन दिएका बालबालिकाहरुले आफूलाई के भनेर बोलाउँछन् भन्ने प्रश्नमा यो उत्तर दिएकी हुन् ।
स्वीडेन नागरिक इभा होल्मवर्ग टेडर्टले जीवनको ६० बसन्त पार गरिसकिन् । तर, उनमा १६ वर्षकी बालिकाको जस्तै जोस जाँगर अनि उत्साह छ । इभा स्वीडेनकी सरकारी जागिरे हुन् । समाजसेवा उनको रुचि । त्यसैले आफ्नो आधा समय जागिरलाई दिन्छन् अनि आधा समाजसेवामा खर्चिन्छिन् । इभाका अनुसार उनमा समाजसेवाको भावना उजागर हुनुमा उनका मातापिताको ठूलो हात छ । उनीहरु इभालाई आफ्नो पाकेट खर्चबाट केही रकम बचत गरेर गरिब, दुःखी बालबालिकालाई सहयोग गर्न प्रोत्साहन गर्थे । इभा पनि आफू जत्रै साथीहरुलाई सहयोग गर्न पाउँदा मख्ख पर्थिन् । यसरी सानैदेखि सहयोगी प्रवृत्तिको विकास भएकाले नै अवकाश लिएर आनन्दले बाँकी जीवन बिताउने उमेरमा पनि उनी नेपालको विकट गाउँ पुगेर त्यहाँको समस्या समाधान गर्न, महिला तथा बालबालिकालाई सेवा गर्न क्रियाशील छिन् । त्यसैले उनलाई आफू भर्खरै १६ वर्ष पुगे जस्तो लाग्छ । उत्तिकै सक्रिय अनि उत्तिकै फुर्तिली ।
‘नेपाल इज माइ सेकेण्ड होम’
हुन त इभाले अफगानिस्तानमा पनि आफ्ना प्रोजेक्टहरु नचलाएकी होइनन् तर त्यहाँको वातावरण असुरक्षित जस्तो महसुस भएपछि उनले नेपालतर्फ आफ्नो ध्यान केन्द्रित गरिन् । यहाँ काम गर्दै जाँदा उनले छुट्टै आनन्द अनुभूति गरिन् । यहाँका महिला तथा बालबालिका उनलाई जति निश्चल र प्रिय लागे उनीहरुको अवस्था उति नै जर्जर र दयनीय । त्यसैले विशेषतः महिला तथा बालबालिकाको उत्थानमा लागि पर्ने योजना बनाइन् ।
एक दशक भन्दा बढी भइसक्योे इभा र नेपालको सम्बन्ध गाँसिएको । नेपालसँगको सम्बन्ध उनलाई खास लाग्छ । वर्षमा तीन पटकसम्म नेपाल आउने भएकोले यो आफ्नो दोस्रो घर हो जस्तो लाग्छ । उनी भन्छिन् ‘नेपाल इज माइ सेकेण्ड होम ।’
यो सम्बन्ध शुरु कहिले भयो भनेर ठ्याक्कै मिति, समय याद छैन इभालाई किनकि बेलाबेला नेपाल आएर विद्यालय स्थापना गर्ने, शैक्षिक सामाग्रीहरु वितरण गर्ने जस्ता सहयोग पहिल्यैदेखि गर्दै आएकी थिइन् उनले ।
सन् २००७ मा काठमाडौंमा टहलि रहँदा सडकभरि बालबालिकाहरु माग्न बसेको देखेपछि उनीहरु किन यसरी माग्न बसेका होलान् भन्ने प्रश्न जाग्यो । सो प्रश्नमा अधिकांश बालबालिकाको एउटै उत्तर थियो ‘आमा नभएर’ । यो उत्तरले उनलाई ती असहाय बालबालिकाको आमा बन्ने प्रेरणा त दियो नै साथै नेपालमा महिला स्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने वास्तविकता पनि अगाडि ल्याइदियो ।
फेरि ती बालबालिकामा पनि केटाहरुको सङ्ख्या बढी हुनुको कारण के होला भनेर बुझ्दै जाँदा अर्को रहस्य खुल्यो । माग्न बसेका केटीहरु बेचिने वा उनीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइने भएकाले माग्ने केटीहरुको सङ्ख्या कम भएको रहेछ । त्यही दिनदेखि इभाले सडक बालबालिकाकी ‘आमा’ बन्ने र विकट गाउँहरुमा महिला स्वास्थ्यलाई सुदृढीकरण गर्दै उनीहरुलाई आफ्नै सिप र पौरखले आफ्नै खुट्टामा उभिन सक्ने बनाउने सपना देखिन् । अन्ततः उनले देखेको सपना साकार भयो ।
आफ्नो समाजसेवाको यात्रालाई संस्थागत गर्दै उनले सडक बालबालिकाहरुलाई खान, बस्न, पढ्न सबै सुविधा प्रदान गरेर घरजस्तै वातावरणमा हुर्काउने योजनामुताविक ‘चाइल्ड हेल्प एण्ड केयर सेन्टर’ नामक संस्था खोलिन् । तथापी बालबालिकाका लागि उनीहरुको परिवारको साथ नै सबैभन्दा महत्वपूर्ण हुन्छ, आफ्नो परिवारकै कोही सदस्यसँग बस्दा उनीहरु झन् खुसी र सन्तुष्ट हुन्छन् भन्ने बुझेर उनले सकेसम्म ती बालबालिकालाई उनीहरुकै आफन्त वा बाबुआमालाई नै खोजेर जिम्मा लाउने व्यवस्था समेत मिलाइन् । अहिलेसम्म उनले करिब ३५ जना बालबालिकालाई आमाबुबासँग वा कोही आफन्त घरमा पुर्नस्थापित गराइसकिन् । परिवारसँग पुनस्थापित गरेपछि पनि यदि उनीहरुको आर्थिक अवस्था कमजोर छ भने ती बालबालिकाको खाने, बस्नेदेखि पढाइ खर्च इभाको संस्थाले बेहोर्दै आएको छ ।
त्यस्तै काठमाडौँको जोरपाटीमा होम फर बोईज एण्ड गल्र्स नामक संस्थामा १७ जना र गोकर्णमा होम फर गल्र्समा १४ जना बालबालिका गरी जम्मा ३१ जना बालबालिकाले संरक्षण पाएका छन् । उनीहरुसँग कुराकानी गर्दा, समय बिताउँदा रमाइलो लाग्छ इभालाई । कोही त उनलाई आफ्नो सपनाको बारेमा पनि सुनाउँछन् । १६ वर्षे विना भन्छिन् ‘म इन्जिनियर बन्छु’ । सानैदेखि उसलाई गणित र विज्ञानमा रुचि भएको इभा बताउँछिन् । त्यस्तै १८ वर्षे एलिसाले भने वकिल बन्ने सपना देखेकी छिन् ।
इभा उनीहरुको सपनाले मूर्तरुप पाएको हेर्न चाहन्छिन् । त्यसैले उनको संस्थाले उनीहरुको माध्यमिक शिक्षाको मात्र नभएर उच्च शिक्षाको जिम्मेवारी पनि लिएको छ ।
त्यस्तै महिलालाई स्वस्थ्य बनाउने योजना अन्तर्गत इभाको संस्थाले देशभरिका ग्रामीण भेगबाट १७ जना महिलालाई विशेष ‘मेडिकल शिक्षा’ प्रदान गर्दै आएको छ । ‘टु मोर दिस् यर’ यस वर्ष थप दुईजनालाई लिएको उनले सङ्केत गरिन् । आफ्नो तालिम वा शिक्षा पूरा गरिसकेपछि उनीहरु आफ्नै गाउँमा गएर स्वास्थ्य सेवा प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ आफूले योजना बनाएको इभाले बताइन् ।
यसरी इभाले आफ्नो संस्थामार्फत् समाजसेवा गर्ने मात्र नभएर उनीहरुलाई आगामी दिनमा कसैको सहयोगको आवश्यकता नै नपरोस् भन्दै स्ववालम्बी र आत्मनिर्भर बन्न उत्प्रेरित गरिरहेकी छिन् । आफ्नो बाँकी जीवन पनि यसै गरी बिताउने उनको इच्छा छ ।
भावनात्मक रुपमा धेरैकी आमा बनिसकेकी इभाका आफ्नै छोराछोरी छैनन् । आफ्नै छोराछोरी भएका भए शायद उनको संसार त्यतिमै सिमित हुने थियो । यति धेरै जनाको माया, सम्मान पाउने थिइनन् उनले । नेपाल आएर ति अबोध, बेसहारा बालबालिकाको आफ्नो डिडी बनेपछि उनले खुसीहरु महशुस गरेकी छिन् ।
अभिभावक हुनुको खुसी ।
समाजसेवामा अहोरात्र खटिएर प्राप्त भएको स–साना खुसी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया