हाम्रै नेपालमाः मरिसकेको भनिएका बच्चा जिवितै फेला परेपछि

 

सप्तरी–सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आज तोडफोड गरिएको छ ।

रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड वर्षीय छोरा अरब साहलाई उपचारका लागि सो अस्पताल ल्याइएपछि चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षणको कक्षमा राखिदिएको र बच्चा ज्यूँदै फेला परेको भन्दै आक्रोशित स्थानीयवासीले तोडफोड गरेका हुन् ।

सर्पदंशमा परेका बच्चालाई उपचारका लागि ल्याए पनि सिधै मृत घोषणा गरी शव परीक्षण कक्षमा राखेको र पछि बच्चा ज्यूँदो फेला परेको दाबी गर्दै अस्पतालमा तोडफोड गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मृत घोषणा गरिएका बच्चाका आफन्त तथा गाउँले अस्पताल आएर तोडफोड गर्दै नाराबाजीसमेत गरेका छन् । तोडफोड र नाराबाजीका कारण अस्पतालको आकस्मिक कक्षको सेवा पूर्णतः प्रभावित भएको थियो ।

प्रदर्शनकारीले अस्पतालको आकस्मिक कक्षका श्यया, कुर्सी, कम्प्युटर, टेबलसहित झ्यालका सिसासमेत फुटाइएको अस्पतालका सुपरिडेन्ट चुमनलाल दासले बताए ।

“हाम्रो टिमले हरेक जाँच गर्दा पनि बच्चा ज्यूँदो देखिएन”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास भन्छन्, “पारामेडिक र सर्जन चिकित्सकले जाँच गर्दासमेत बच्चाको मृत्यु भइसकेको थियो ।” उनले चिकित्सकको टोली राम्रोसँग काम गर्न खोज्दा पनि यसरी आक्रमण भएपछि चिकित्सकको मनोबल कमजोर भएको बताए ।

बच्चाको मृत्यु भइसकेपछि बच्चाका अभिभावकले नै शव परीक्षण गराइदिन प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण कक्षमा लगिएको उनले जानकारी दिए ।
यद्यपि ज्यूँदै भनिएका बालकलाई उपचारका लागि सिरहाको चोहर्बास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिए पनि त्यहाँ पनि मृत घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?