सरकार र व्यवसायीको ‘कुरा मिल्दा’ चिनीको मूल्य ५ रूपैयाँसम्म बढ्यो

काठमाडाैं : स्वदेशी उद्योगीको चिनीलार्इ बजार व्यवस्थापन गरिदिन भन्दै भदाै ३१ गते मन्त्रीपरिषद्ले चिनीको अायातमा परिमाणात्मक बन्देज लगायो ।

त्यस्तो बन्देज लगाएको एक हप्ता नबित्दै बजारमा चिनीको मूल्य अाकासिएको छ । बन्देज लगाउनुअघि ६५ रूपैयाँ हाराहारीमा पाउने गरेको चिनीको मूल्य अहिले झन्डै ७५ रूपैयाँ पुगेको छ ।

अायातकर्ताले नै चिनीको मूल्य बढाएको थोक र खुद्रा व्यवसायीहरूले बताएका छन् । यसअघि अायातकर्ताले थोक बिक्रेतालार्इ ६१ रूपैयाँमा, थोक बिक्रेताले खद्रा बिक्रेतालार्इ ६३ मा र खुद्रा बिक्रेताले उपभोक्तालार्इ ६५ देखि ६६ रूपैयाँसम्ममा चिनी बेच्ने गरेका थिए । 

तर, मन्त्रीपरिषदले भदाै ३१ मा गरेको निर्णयपछि चिनीको मूल्यमा एकाएक १० रूपैयाँसम्म बढेको छ । अायातकर्ताले त किटेर नै ५ रूपैयाँ मूल्य बढार्इसकेका छन् । असअघि प्रतिकेजी ६१ रूपैयाँमा चिनी बेचिरहेका अायातकर्ताले अहिले ६६ रूपैयाँमा बिक्री गर्न थालेका छन् ।

नेपाली मिलबाट उत्पादित चिनीले बजार नपाएको र उखु किसानलार्इ समेत मर्का परेको भन्दै उद्योगीहरूले विदेशी चिनी अायातमा कडार्इ गर्न सरकारसँग लामो समयदेखि माग गर्दै अाएका थिए । यही मागअनुसार अापूर्तिमन्त्री मातृका यादवले मन्त्रीपरिषद्मा चिनी अायातमा परिमाणात्मक बन्देज लगाउने प्रस्ताव लगेका थिए । सो प्रस्ताबलार्इ मन्त्रीपरिषद्ले पारित समेत गरेका थियो । 

भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षमा ९४ हजार टन मात्र चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । चिनी उत्पादक सङ्घ र उखु उत्पादक सङ्घको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै परिमाणात्मक बन्देजका लागि निर्देशन दिएका थिए ।

नेपालमा बार्षिक २ लाख मेट्रिक टन चिनी खपत हुन्छ । हाल स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार मेट्रिक टन र अायातितसहित ३ लाख ७८ हजार मेट्रिक टन चिनी रहेको सरकारले दाबी गरेको छ । 

चिनीको मूल्य बढ्दासाथ जुस, कोल्ड ड्रिंक्स, कन्फेक्सनरी र बिस्कुटजस्ता उपभोग्य बस्तुको मूल्य समेत बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?