बैतडीमा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

बैतडी । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग ‘एनपीएल’ टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

निङ्गलाशैनी क्रिकेट क्लब ‘एनसिसी’ देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । 

प्रतियोगितामा प्रथम परस्कार एक लाख ११ हजार १ सय ११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब ‘नसिसी’का अध्यक्ष महेशसिंह भण्डारीले बताए । 

कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई ११ हजार १ सय ११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक÷एक जनालाई जनही ५ हजार ५ सय ५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ । 

असोज २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगितामा सहभागी हुने टोलीमा तीन जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी ‘नेपाली नागरिक’ समेत राख्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा सञ्चालन हुनेछन् । 

वि.सं १९९९ मा स्थापना भएको निङ्गलाशैनी क्रिकेट क्लब ‘एनसिसी’ देहिमाडौँले विकास, अनुशासन र गतिशीलता भन्ने मूल भावका साथ जिल्लामा सक्रिय अवस्थामा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?