काठमाडौं । रुसका कुटनीतिज्ञहरुले जुलियन असान्जको नजिकका मानिसहरुसँग अघिल्लो वर्ष गोप्य वार्ता गरेको खुलासा भएको छ ।
लण्डनमा भएको त्यस वार्तामा रुसी कुटनीतिज्ञले असान्जलाई सुरक्षित रुपमा संयुक्त अधिराज्यबाट भगाउन सकिनेबारेमा छलफल गरेका थिए ।
त्यस वार्तामा असान्जलाई उनी बसिराखेको इक्वेडरको बेलायतस्थित दूताबासबाट कुटनीतिक वाहनमा राखेर अर्को देशमा लाने एक मोटामोटी योजना बनेको कुरा पनि बाहिर आएको छ ।
विभिन्न स्रोतहरुले बेलायती समाचारपत्र गार्डियनलाई बताए अनुसार योजनामा रहेको एक अन्तिम गन्तव्यमा रुस आफै पनि थियो । रुसबाट अमेरिका सुपुरदर्गी गरिने खतरा नभएकाले असान्जको रुस जाने योजना उच्च प्राथमिकतामा रहेको हो । योजना कार्यान्वयनमा ल्याइँदा धेरै खतरा हुने भएपछि यसलाई पछि त्यागिएको थियो ।
असान्जलाई इक्वेडरको दूताबासबाट निकाल्ने सम्भावित समय तालिका सन् २०१७ को क्रिसमसलाई निर्धारित गरिएको थियो । एक स्रोतका अनुसार इक्वेडरले असान्जलाई भावि दिनमा कुटनीतिक हैसियत दिन अस्वीकार गर्ने सम्भावना बढ्दै गए पछि यो योजना आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया