माल्दिभ्समा भारत समर्थित राष्ट्रपति जित्ने दाबी

एजेन्सी : माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आइतबार सम्पन्न भएको राष्ट्रपति पदको चुनाव जित्ने दाबी गरेका छन् । 

स्थानीय सञ्चार माध्यमहरूका अनुसार सोलिहलाई वर्तमान राष्ट्रपति अब्दुला यामिनको तुलनामा  स्पष्ट अग्रता प्राप्त हुँदै गएको छ ।

माल्दिभ्स इन्डिपेन्डेन्ट वेबसाइटका अनुसार ४७२ मतपेटिकाहरूमध्ये ४३७ मतपेटिकाको गणना भइसकेको छ ।

सो गणना अनुसार सोलिह वर्तमान राष्ट्रपति यामिनलाई धेरै पछाडि छाडेको जनाएको छ ।

सोलिहले आफू १६ प्रतिशत मत अन्तरले जितिसकेको बताए । सञ्चार माध्यमका अनुसार ९२ प्रतिशत मतको गणना भइसकेको छ ।

चुनावमा मतदाताहरूको सहभागीता बढेपछि निर्धारित समय भन्दा ३ घन्टा बढी बढाउनु परेको थियो ।

कतिपयले आफू ५ घन्टासम्म लाइनमा बसेर मतदान गर्न पाएको बताए ।

माल्दिभ्सको चुनावमा चीन र भारतले विशेषरूपले चासो दिएको देखिएको छ ।

वर्तमान राष्ट्रपति यामिनलाई चीन निकट मानिएको छ ।

सोहिललाई भारत समर्थक नेताको रूपमा देखिएको छ ।

निर्वाचन अघि यामिनले जित हात पार्ने अपेक्षा गरिएको थियो ।

यामिनका कतिपय राजनीतिक विरोधी माल्दिभ्सको जेलमा बन्द रहेका छन् ।

यामिनमाथि मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा प्रहरीले विपक्षी गठबन्धनको चुनाव कार्यालयहरूमा छापामारी गरिएको थियो ।

युरोपियन युनियन, अमेरिका ,अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा विपक्षी दलहरूले चुनावको निष्पक्षताबारे चिन्ता जाहेर गरेका थिए ।

युरोप र अमेरिकाले चुनाव निष्पक्ष नभए माल्दिभ्समाथि नाकाबन्दी लगाउने चेतावनी दिएका थिए ।

तर पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई चुनावमा सहभागी हुन दिइएको थिएन् ।

यो वर्ष फेब्रुअरीमा सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नशिदमाथि लगाइएको  मुद्दालाई  असंवैधानकि ठहर गर्दैै कैद गरिएका विपक्षी ९ सांसदलाई रिहा गर्न आदेश जारी गरेको थियो ।

अदालतको फैसलालाई इनकार  गर्दै माल्दिभ्सको संसदलाई अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

राष्ट्रपति यामिनले देशमा १५ दिनका लागि आपतकाल लगाएका थिए । दुई न्यायाधीशहरूलाई पक्राउ गर्न लगाएका थिए ।त्यसपछि त्यो फैसला उल्ट गरिएको थियो ।

यामिनको कार्यकालमा चीनले माल्दिभ्समा ठूलो धनराशिको लगानी गरेको थियो । दुबै देशले स्वतन्त्र व्यापार सन्धीमा हस्ताक्षर पनि गरेका थिए।

पर्यटन र रणनीतिक हिसाबले माल्दिभ्स चीन र भारतका लागि महत्वपूर्ण देश हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?