नेपालले बंगबन्धु खेल्ने पक्का, घरेलु लिगको खेल तालिकामा परिवर्तन हुने

काठमाडौं । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबलमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ । 

बंगलादेश फुटबल फेडेरेसनले अखिल नेपाल फुटबल संघ ‘एन्फा’लाई दिनुपर्ने बाँकी रकम उपलब्ध गराएपछि नेपालले बंगबन्धु गोल्डकपमा भाग लिने पक्का भएको हो । तर, शहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिकामा भने फेरबदल हुने भएको छ । 

बंगलादेश फुटबल फेडेरेसनले दिनुपर्ने पुरस्कार रकम ‘एन्फा’ले नपाउदा प्रतियोगितामा सहभागी हुने वा नहुने निर्णय गर्न सकेको थिएन । 

बंगलादेशी फुटबल फेडेरेसनले करिब २५ लाख रुपैयाँको पुरस्कार रकम 'एन्फा'को खातामा पठाएपछि आगामी असोज १५ गतेबाट शुरु बंगबन्धु गोल्डकपमा नेपालले खेल्ने पक्का भएको 'एन्फा' प्रवक्ता किरण राईले जानकारी दिए । 

यता, 'एन्फा'का लिग निर्देशक सञ्जिव मिश्रले नेपालले बंगबन्धु खेल्ने भएपनि ‘ए’ डिभिजन लिगको उद्घाटन खेल निर्धारित मिति र समयमा हुने जानकारी दिएका छन् । 

बंगबन्धुको नयाँ खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।  नेपालले पहिलो खेलमा अक्टोबर २ तारिखमा ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै, अक्टोबर ६ तारिखमा दोस्रो खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?