बुटवल । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानून दुई महिनाभित्र संशोधन हुने बताएका छन् ।
सोमबार बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कुरा बताएका हुन् ।
उद्घाटन समारोहमा बोल्दै उनले लगानीको लागी मैत्रीपूर्ण वातावरण बनाउनु पर्ने बताए । ‘‘अहिले सरकार स्थिर छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं’ उनले भने ।
‘कानूनहरु संशोधनको अवस्थामा छन् । छिटै एक–दुई महिनामा संसदको विचाराधीन अवस्थामा पुग्नेछन् । संसदबाट पास हुनेछ’ उनले थपे ।
लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्द्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरु संशोधन भएर लगानीमैत्री वातावरणमा जाने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
उनले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया